सम्पादकीय

माओवादी केन्द्रमा सामूहिक राजीनामा, प्रचण्डलाई पार्टी चलाउन संकट पर्दै



काठमाडौं, १३ माघ । माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यले बुधबार पदबाट सामूहिक राजीनामा दिएका छन् ।

ठूलो संख्यामा रहेको पार्टी केन्द्रले तलको संगठन ध्वस्त भएको निक्र्योल निकाल्दै पार्टी सुदृढीकरणमा सहयोग पुर्‍याउने भन्दै एकैसाथ राजीनामा दिएका हुन् ।

चार हजार केन्द्रीय सदस्य रहेको पार्टी केन्द्रका कारण कार्यकर्तामा निराशा आएको र यसले नजिकिँदो चुनावलाई गम्भीर असर पुर्‍याउन सक्ने भन्दै पार्टी हेडक्वार्टरलाई दबाब दिन यस्तो निर्णय गरेको राजीनामा पत्रमा उल्लेख छ । राजीनामा दिनेहरूमा पार्टी केन्द्रीय कार्यालय सदस्य अग्निप्रसाद सापकोटाबाहेकका छन् ।

पार्टी केन्द्रबाट राजीनामा दिएर जिल्लालाई मजबुत बनाउने र स्थानीय तहको चुनाव जित्ने उद्देश्यले सामूहिक राजीनामा दिएको जिल्ला सम्मेलन आयोजक समितिका इन्चार्ज कृष्णप्रसाद सापकोटाले बताए ।

सदरमुकाम चौतारास्थित सहिद प्रतिष्ठान हलमा सहभागी पाँचसय अगुवा कार्यकर्तामाझ नेताहरूले सामूहिक राजीनामा दिएका थिए । दुई पृष्ठ लामो राजीनामा पत्रमा पार्टी शुद्धीकरणको अभियान सिन्धुपाल्चोकबाटै सुरु भएको घोषणा गरियो । ‘७० जनाले राजीनामापत्रमा हस्ताक्षर गरेका छन् ।

यो पत्र तत्काल पार्टी अध्यक्ष र केन्द्रीय कार्यालयसमक्ष पुर्‍याउनेछौं,’ नेता युवराज दुलालले भने, ‘केन्द्रीय सदस्यबाट राजीनामा दिएसँगै जिल्लामा सबै माओवादीबीच एकता हुने निश्चित भएको छ ।’ राजीनामापछि जिल्लाको प्रथम एकता भेला सम्पन्न भएको र सबै माओवादी घटक भेलामा सहभागी भएको पूर्वसभासद राजकुमार श्रेष्ठले जानकारी दिए । पार्टीको एकता भेलासँगै कार्यकर्तामा उत्साह पैदा भएको उनले बताए ।

पार्टी एकीकरणपछि भएको एकता भेलाले स्थानीय निर्वाचनका लागि गाउँतहसम्म पार्टी परिचालन गर्ने निर्णय गरेको कान्तिपुरमा समाचार छ ।