काठमाडौ, २१ माघ । उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने भएको छ ।
पहिलो चरणमा भक्तपुरको गुण्डु, बालकोट, चाँगु र दुवाकोट, दोस्रो चरणमा ललितपुरको भैँसेपाटी, बुङ्मती, छम्पी र तेस्रो चरणमा काठमाडौँको साँखु र काभ्रेस्थलीमा स्याटलाइट सिटी निर्माण गरिने भएको छ ।
ती स्थानमा स्याटलाइट सिटी निर्माणका लागि सरकारले सम्भाव्यता अध्ययन गरिसकेको र अब विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)को काम अगाडि बढाइने काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका योजनाविद् भागवतभक्त खोकालीले अबको १५ वर्षमा उपत्यकाका केही स्थानमा आधुनिक सहर निर्माण गरिसक्ने गरी सरकारले स्याटलाइट सिटी निर्माण गर्न लागेको जानकारी दिए । काठमाडौँ सहर अव्यवस्थित र साँघुरो बन्दै गएको र अब त्यस्तो नहोस् भन्नका लागि सरकारले उपत्यकाको निश्चित स्थानमा स्याटलाइट सिटी निर्माण गर्न लागेको हो ।
स्याटलाइट सिटी निर्माणको कामका लागि अहिले विशेषज्ञसहितको टोलीले सम्भाव्यता अध्ययन गरिसकेको र एक वर्षभित्र डीपीआर तयार गर्ने र सोका आधारमा स्याटलाइट सिटी निर्माणको काम अगाडि बढ्नेछ ।
सहरी विकास मन्त्रालयले यस वर्षको कार्यक्रममा प्रस्तावित स्याटलाइट सिटी निर्माणका लागि डीपीआर तयार गर्न १४ करोड रुपियाँ विनियोजन गरेको छ ।
सरकारले ललितपुरको विभिन्न स्थानमा प्रस्ताव गरेको स्याटलाइट सिटी निर्माणका लागि एक लाख रोपनी र काठमाडौँ र भक्तपुरमा प्रस्तावित सिटी १० हजार रोपनी क्षेत्रमा बन्ने तयारी भएको छ । यसका लागि बजेट विनियोजन भइसकेको र चाँडै काम अगाडि बढ्ने खोकालीले बताए ।
सिटी निर्माण गर्दा सरकारले तोकेको जमिनलाई प्राधिकरणले टाउन प्लानिङ गर्नका लागि ल्यान्डपुलिङ गर्नेछ र सो क्षेत्रमा विद्युत्, पानी, ढल, फोहोर व्यवस्थापन, सञ्चार, शैक्षिक क्षेत्र, खेलमैदान र भौतिक पूर्वाधार, पर्यटकीय स्थान, धार्मिक तथा सांस्कृतिक स्थान र मनोरञ्जन पार्कलगायतका स्थानसमेत छनोट गरिनेछ ।
सरकारले सबै पूर्वाधार भइसकेकपछि पुलिङ गरिएको जमिन पुनः जग्गाधनीलाई फिर्ता गर्नेछ । उक्त क्षेत्रमा जग्गाधनीले घर निर्माण गर्दा प्राधिकरणको मापदण्ड अनुसार मात्र निर्माण गर्नुपर्ने व्यवस्था रहनेछ ।
उनले भने, ‘जमिन ल्यान्डपुलिङ गर्दा व्यक्तिको जग्गा केही अंश बाटोमा जाने हुँदा सो जग्गाको क्षतिपूर्ति सरकारले दिनेछ ।’ सो क्षेत्रमा भित्री सडक न्यूनतम छ मिटर र बाहिरी सडक २२ मिटरको हुनुपर्नेछ ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले उपत्यकाभित्र अनावश्यक जग्गा किनबेचको चलखेल हुने भएकाले स्याटलाइट सिटी निर्माणको कुरालाई व्यापक रूपमा प्रचारमा नल्याएको बताए ।
स्याटलाइट सिटी निर्माण हुनेमा कुनै शङ्का छैन, सरकारले केही काम अगाडि बढाएपछि स्थानीयवासीसँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछ । अन्य देशमा स्याटलाइट सिटी निर्माण हुने गरे पनि नेपालमा भने स्याटलाइट सिटी पहिलो हुनेछ ।
उहाँका अनुसार स्याटलाइट सिटी निर्माण भएपछि उक्त स्थान आधुनिक सहरका रूपमा विकास हुने र सुविधासम्पन्न बन्नेछ । सबै काम कुनै पनि अवरोधबिना सरासर हुने हो भने करिब १५ वर्षमा सबै काम सम्पन्न भई उपत्यकामा स्याटलाइट सिटी निर्माण भइसक्ने दाबी तिवारीको रहेको गोरखापत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्