सम्पादकीय

३१ करोड नदिए साताभित्रै उपत्यकामा पानी हाहाकार



काठमाडौं, २३ माघ । खानेपानी मन्त्रालयले ३१ करोड रुपैयाँ नदिए केही सातापछि नै काठमाडौंमा खानेपानीको हाहाकार हुने चेतावनी दिएको छ ।

शुक्रबार व्यवस्थापिका संसदको विकास समितिमा बोल्दै खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले यस्तो चेतावनी दिएका हुन् ।

पाइप बिछ्याउँदा र अन्य कार्य गर्दा पानीको पाइप काटिएको भन्दै ३१ करोड रुपैयाँ नदिए केही सातापछि नै उपत्यकामा खानेपानीको हाहाकार हुने उनले बताए ।

पाइप बिछ्याउँदा खनिएको सडकले १० देखि १५ प्रतिशत मात्र धुलो थपेको दाबी गर्दै उनले सडक भत्काएर विभिन्न काम गर्ने निकायले पानीको पाइप टुटाएको र टुटेको पाइप मर्मतका लागि करिब ३१ करोड रुपैयाँ खर्चिनुपरेको बताए ।

‘पाइप मर्मतका लागि सात दिनभित्र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई पैसा नदिए सुख्खा मौसममा उपत्यकामा पानी उपलब्ध गराउन सकिँदैन’, उनले चेतावनी दिएको नागरिकमा समाचार छ ।