सम्पादकीय

झलनाथका नजरमा ११ नेता, देउवालाई बुझ्नै गाह्रो, प्रचण्ड राष्ट्रियतामा कमजोर



काठमाडौं, २३ माघ । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल समकालीन शीर्ष नेतामध्ये गहिरो राजनीतिक विश्लेषण क्षमता भएका थोरैमा पर्छन् ।

सैद्धान्तिक रूपमा खारिएका र गीतसंगीतमा पनि रुचि राख्ने खनाल राजनीतिक संवादमा सक्रिय छन् । चार दशक लामो नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय खनालले समकालीन ११ नेताबारे गरेको टिप्पणीः

प्रचण्डः राष्ट्रियतामा कमजोर  

पुष्पकमल दाहाल प्रचण्डले १० वर्ष यो देशमा सशस्त्र संघर्ष चलाउनुभयो । त्यो नेपालको इतिहासमा अभूतपूर्व नै हो । युद्ध, हिंसा व्यापक हुनु, ठूलो संख्यामा जनता मारिनु र ठूलो रक्तपात हुनुबाहेक त्यसबाट केही हुँदैन भन्ने कुरा बुझ्न उहाँलाई १० वर्ष लाग्यो । उहाँले आखिरमा कुरा बुझ्नुभयो ।

युद्धकालमा भारतको नयाँ दिल्लीमा उहाँसँग मेरो लामो वार्ता भएको थियो । हामीले पनि एक समय (२०२८ सालमा) युद्ध गरेका थियौँ । शान्तिपूर्ण ढंगले लोकतान्त्रिक धारमा आउने उहाँको अहिलेको प्रवृत्ति सकारात्मक हो । तर, अहिले राष्ट्रियताको सवालमा उहाँभित्र गम्भीर समस्या मैले देखिरहेको छु ।

ओलीः पहिला कमजोर, अहिले सफल

केपी शर्मा ओली ले झापा संघर्षमा महत्वपूर्ण योगदान गर्नुभयो । त्यसपछि लामो समयावधिसम्म जेल बस्नुभयो । जेलबाट बाहिर आएपछि नेकपा एमालेको केन्द्रीय कमिटीको सदस्यका रूपमा उहाँले योगदान गर्दै आउनुभयो ।

पछिल्लो अवधिमा उहाँलाई अध्यक्ष बन्ने महत्वकांक्षा प्रबल भएपछि उहाँले समूह बनाउन थाल्नुभयो । पार्टीमा समूह बनाउने, गुट बनाउने, अलग ढंगले उहाँले काम गर्नुभयो । उहाँले यो राम्रो गर्नुभएन । यी उहाँका कमजोरी नै हुन् । अन्ततः नवौँ महाधिवेशनमा उहाँ अध्यक्षमा निर्वाचित हुनुभयो । त्यसपछि उहाँले राजनीतिक रूपले पार्टीलाई अगुवाइ गर्ने काम गर्नुभएको छ । सफलतापूर्वक नै गरिरहनुभएको छ ।

देउवाः बुझ्नै गाह्रो

शेरबहादुर देउवाका के–के गुण छन् र वैगुन छन् भन्ने कुरा बुझ्न नै गाह्रो छ । यति छिटोछिटो बोल्नुहुन्छ कि, उहाँको बोली नै बुझिँदैन । व्यक्तिगत रूपमा शेरबहादुरजीसँग मेरो राम्रो सम्बन्ध छ । उहाँलाई म सम्मान पनि गर्छु । तर, नेपाली कांग्रेसलाई राष्ट्रियताको पक्षमा दह्रो बनाउनुस्, देशभक्त पार्टीको रूपमा विकास गर्न सक्नुस्, समाजवादी पार्टीको रूपमा विकास गर्न सक्नुस्, त्यसका निम्ति मेरो शुभकामना छ ।

नेपालः सैद्धान्तिक गहिराइको कमी

उहाँको राजनीतिक जीवन पनि म सफल जीवन देख्छु । उहाँले कम्युनिस्ट  आन्दोलनलाई अगाडि बढाउने कुरामा महत्वपूर्ण योगदान गर्नुभएको छ । समग्रमा उहाँको वैचारिक, राजनीतिक पक्षहरू ठिकै छन् । एउटा अवधिभरि पार्टीलाई हाँकेर आउनुभएको छ । तर, सैद्धान्तिक पक्षमा उहाँको त्यति गहिराइ देखिँदैन ।

डा. भट्टराईः अस्थिर तर महत्वाकांक्षी

डा. बाबुराम भट्टराईमा बौद्धिकता छ । तर, त्यो बौद्धिकता र विद्धतालाई उहाँले सही रूपमा प्रयोग गर्न सक्नुभएन । अहिले उहाँले निर्माण गरेको नयाँ शक्ति भनेको उहाँको दिमागमा भएको ठूलो अलमलको परिणाम हो । उहाँको राजनीतिक जीवन खतरामा परेको देख्छु । अगाडि बढ्ने महत्वाकांक्षा उहाँको ठूलो छ । तर, उहाँले आफ्नै खुट्टा भासतिर फसाएजस्तो देख्छु ।

पौडेलः महत्वाकांक्षी तर कमजोर आधार

रामचन्द्र पौडेल अलि महत्वकांक्षी हुनुहुन्छ । महत्वाकांक्षा पूर्ति गर्नका लागि आवश्यक आधार भने तयार गर्न सक्नुहुन्न । उहाँ १७ पटक प्रधानमन्त्रीका लागि निर्वाचनमा भिड्नुभयो तर असफल हुनुभयो ।

अहिले पनि प्रधानमन्त्री बन्ने इच्छा उहाँमा प्रबल छ । तर, परिस्थितिले उहाँलाई त्यो पदबाट सम्मानित गर्छजस्तो मलाई लाग्दैन । किनभने नेपाली कांग्रेसमा अलि भिन्नै परिस्थिति विकसित भएर आएको छ ।अब देउवाजीको कार्यकालभरि उहाँले त्यो चान्स पाउनुहोलाजस्तो देखिँदैन ।

वैद्यः दर्शन र संस्कृतिमा अगाडि

मोहन वैद्य राष्ट्रवादी चिन्तन भएको माक्र्सवादी नेता हुनुहुन्छ । उहाँले राजनीतिमा भन्दा पनि दर्शन संस्कृतिमा अलि बढी दख्खल राखेजस्तो मलाई लाग्छ । दर्शन र संस्कृतिको क्षेत्रमा लेखनकार्य मात्रै पनि अलिक बढी गर्नुभयो भने त्यो नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनका लागि योगदान हुन सक्छ । तर, राजनीतिक चिन्तनचाहिँ उग्रवामपन्थी भड्काउले ग्रस्त छ ।

ठाकुरः इमानदार तर सधैँ भावुक

महन्थ ठाकुर  एकदमै भावनात्मक हुनुहुन्छ । धेरै बोल्नुहुन्न, बोल्दा भावनात्मक कुरा गर्नुहुन्छ । तर, उहाँको दृष्टिकोणमा भयावह किसिमका गलत धारणा जमेका छन् ।

सिंगो मधेसलाई एक राष्ट्र अनि पहाडलाई अर्को राष्ट्रका रूपमा देख्ने, देशलाई दुई राष्ट्रमा विभाजित गरिएको दृष्टिकोण उहाँले बोक्नुभएको छ । यो उहाँको राजनीतिक जीवनकै निम्ति अत्यन्त अनुत्पादक र घातक विचार हो ।

थापाः देशलाई माया गर्ने दक्षिणपन्थी

कमल थापा पूर्वपञ्चहरूभित्रको एउटा प्रखर नेता हो । उहाँमा राष्ट्रवादी भावना छ । तर, उहाँ नेपाली जनतामा भएको हिन्दू धर्मप्रतिको आस्था र राजतन्त्रको हतियार लिएर नेपालमा राजनीति गर्न तम्सिनुभएको छ । यी दुईवटै आधुनिक समाजका प्रबल हतियार होइनन् । राजतन्त्र नेपालको इतिहासमा कालातीत भइसकेको विषय हो । उहाँले राजतन्त्रको हतियारसमेत समाउनुभएको छ ।

बिजुक्छेः भक्तपुरमा वर्चस्व

नारायणमान बिजुक्छेले ठूलो पार्टी बनाउन नसके पनि कमसेकम नेमकिपा निर्माण गरेर भक्तपुरमा काम गर्नुभएको छ । एउटा राजनीतिक आधार बनाएर लाग्नुभएको छ । त्यो विस्तार गरेर देशभरि फैलिन कहिल्यै पनि सक्दैन । तर, पनि भक्तपुरमा रोहितजी हुन्जेल नेमकिपाको राम्रै वर्चस्व हुने देख्छु म ।

सिंहः पुरानै अडान राख्ने आदरणीय पात्र

मोहनविक्रम सिंह आफ्नो अडानमा दृढ भएर बसिरहने नेता हुनुहुन्छ । समाज, देश, दुनियाँ बदलिइसक्यो, तर उहाँ पुरानै अडानमा बसिरहनुहुन्छ । उहाँले नेतृत्व गरेको धार विकसित हुन, विस्तृत हुन, फैलिन र सफल हुन कहिल्यै सकेन । उहाँले नेतृत्व गरेको कम्युनिस्ट पार्टी ३० को दशकमा सबैभन्दा ठूलो थियो । तर, त्यसलाई एकताबद्ध बनाएर राखिरहन उहाँले सक्नुभएन ।  नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न योगदान गर्नुभए धेरै राम्रो हुने नयाँ पत्रिकामा समाचार छ ।