Uncategorized

विवादले बिथोलियो स्ववियु चुनाव तालिका



काठमाडौ २ फागुन । कांग्रेस निकट नेपाल विद्यार्थी संघको एउटा समूह र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट विद्यार्थी संगठनले राजधानीका विभिन्न कलेजमा ताल्चा लगाएपछि स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मतदाता नामावली प्रकाशन अवरुद्ध भएको छ ।

त्रिविको चुनाव तालिकाअनुसार स्ववियु चुनावका लागि कलेजहरूले आइतबार मतदाता नामावली प्रकाशन गर्नुपर्थ्यो । त्रिभुवन र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका कलेजमा फागुन १४ मा स्ववियु चुनावको मिति तोकिएको छ । नेविसंघका असन्तुष्ट समूह, चन्द माओवादीनिकट विद्यार्थी र अन्य साना विद्यार्थी संगठनले आफ्ना माग पूरा नभएको भन्दै कलेजमा ताल्चा लगाएपछि स्ववियु चुनाव तालिका बिथोलिएको छ ।

आइतबार राजधानीका कुनै पनि कलेजमा मतदाता नामावली प्रकाशन हुन सकेन । आफ्नो माग बेवास्ता गर्दै मतदाता नामावली प्रकाशन गरिन लागेको भन्दै असन्तुष्ट विद्यार्थीले रत्नराज्य, पाटनलगायत केही कलेजमा तोडफोडसमेत गरेका छन् ।

स्ववियुमा उम्मेदवारी दिने उमेरहद २८ वर्ष तोकेकोमा नेविसंघको एउटा असन्तुष्ट समूह र विप्लव माओवादी निकट विद्यार्थीसहित साना विद्यार्थी संगठनले विरोध गर्दै आएका थिए । उनीहरूले उम्मेदवारको उमेरहद हटाउनुपर्ने आफ्नो माग पूरा नभएको भन्दै राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल कमर्स क्याम्पसलगायत राजधानीका मुख्य कलेजमा ताला लगाएका छन् ।

त्रिवि शिक्षाध्यक्ष तथा स्ववियु चुनाव समन्वय समिति संयोजक प्राडा सुधा त्रिपाठीले उपत्यकाका कुनै पनि क्याम्पसबाट मतदाता नामावली सार्वजनिक भएको जानकारी नपाएको बताइन् । ‘केही क्याम्पस प्रमुखले त मतदाता नामावली स्थगनको सूचना सार्वजनिक गरौं भनेर सोध्नुभएको थियो तर मैले आफ्नो अनुकूल हेरेर निर्णय गर्नुहोला भनेुं, त्रिपाठीले भनिन् ।
नेविसंघ र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीनिकट विद्यार्थी संगठनले राजधानीका विभिन्न कलेजमा ताल्चा लगाएपछि मतदाता नामावली प्रकाशन अवरुद्ध
पाटन क्याम्पस प्रमुख माधव गौतमले मतदाता नामावली प्रकाशन गर्न लाग्दा असन्तुष्ट विद्यार्थी आएर मूलद्वारमा ताल्चा लगाइदिएको बताए । ‘हामी नामावली प्रकाशन गर्न लागेका बेला मूलद्वारमै ताला लगाएपछि प्रक्रिया अघि बढाउन सकेनौं । अब के गर्ने भन्न सक्दैनौुं, गौतमले भने ।
नेविसंघका काठमाडौं जिल्ला अध्यक्ष तथा पशुपति क्याम्पसका निवर्तमान सभापति मनोज वैद्यले २८ बर्से उमेरहद लागू गर्नु अव्यावहारिक भएको बताए । ‘पार्टी नेताहरू ८० वर्षसम्म पदमा बसिरहने, विद्यार्थीलाई भने २८ वर्ष पुगेकाले राजनीति नगर भन्ने रु ु उनले भने, ‘हामी मान्दैनौं ।ु

उमेर हदबन्दी खारेजीको माग गर्दै उनीहरूले सर्वोच्चमा मुद्दा दायर गरेका छन् । मुद्दाको पेशी फागुन १२ गते तोकिएको छ । ‘अदालतको निर्णय मान्न तयार छौं । तर केही नेता र त्रिविको निर्णय मान्दैनौुं, वैद्यले भने ।
वैद्य नेतृत्वको समूहले उमेर हदबन्दीको विरोध गरे पनि संस्थापन पक्षले भने चुनावमा जाने निर्णय गरिसकेको छ ।
कांग्रेसले पनि चुनावमा भाग लिन नेविसंघलाई निर्देशन दिइसकेको छ ।

कांग्रेस, एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनले शनिबार बैठक गरी जुनसुकै परिस्थितिमा पनि यसपल्ट स्ववियु निर्वाचन हुनुपर्ने र यसका लागि आवश्यक परे त्रिविलाई सघाउन तयार रहेको बताएका थिए । त्रिविले सफलतापूर्वक स्ववियु चुनाव सम्पन्न गर्न आफूलाई सहयोग गर्न विद्यार्थी संगठनसँग आग्रह गरेको छ ।
अन्नपूर्ण दैनिकबाट