महेश्वर गौतम
काठमाडौं, ६ फागुन । स्वतन्त्र विद्यार्थी युनियन ९्स्ववियुको निर्वाचन १८ फागुनमा हुने भएको छ । १४ फागुनका लागि तय भएको निर्वाचन विद्यार्थी संगठनकै आग्रहमा त्रिभुवन विश्वविद्यालयले ४ दिनपछिका लागि सारेको हो । बिहीबार साँझ प्रमुख दलनिकट विद्यार्थी संगठन, त्रिभुवन विश्वविद्यालय तथा आन्दोलनरत विद्यार्थी संगठनबीच भएको छलफलपछि स्ववियुको निर्वाचन आगामी १८ फागुनमा गर्ने सहमति भएको हो ।
माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले त्रिविसँग प्रमुख दलनिकट तथा आन्दोलनरत विद्यार्थी संगठनसँगको छलफलपछि निर्वाचन मिति सार्ने सहमति भएको जानकारी दिए ।
‘मिति १८ फागुनका लागि टुंग्याइएको छ, मिश्रित निर्वाचन प्रणालीमै निर्वाचन गर्ने सहमति भएको छ,’ न्यौपानेले राजधानीसँग भने, ‘उमेर हदका विषयमा कसैको विमति रहेन ।’
नेविसंघ अध्यक्ष नैनसिंह महरले पनि १८ फागुनका लागि मिति तय भएको तथा मिश्रित प्रणालीबाट निर्वाचन हुने विषयमा सहमति भएको बताए । त्रिविको प्रणाली, उमेर, स्ववियु सुधारलगायत विषयमा भने आगामी स्ववियु निर्वाचनपछि उच्चस्तरीय आयोग बनाएर अघि बढ्ने सहमति भएको महरले जानकारी दिए ।
बिहीबार दिउँसो नै मुख्य दलनिकट विद्यार्थी संगठनसहित स्ववियु निर्वाचनका विषयमा आन्दोलनरत विद्यार्थी संगठनले त्रिविसँग केही दिन हेरफेर गरेर भए पनि निर्वाचन गर्ने वातावरण मिलाउन प्रस्ताव गर्ने निर्णय गरेका थिए । विद्यार्थी संगठनको मागअनुसारै केही दिन हेरफेर गरेर भए पनि निर्वाचन गराउन त्रिविवि सहमत भएको हो ।
बिहीबार बिहान नेत्रविक्रम चन्द माओवादीनिकट विद्यार्थी संगठनसँगको छलफलपछि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले त्रिविविसँग चुनाव सार्ने प्रस्ताव गरेका थिए । चन्द माओवादीनिकट विद्यार्थी संगठनले केही समय हेरफेर भए क्याम्पसमा लगाइएको ताला खोलेर निर्वाचनमा सहभागी हुँदै सहयोग गर्ने बताएपछि प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विद्यार्थी संगठनबीच स्ववियु निर्वाचनपछि सार्ने सहमति बनेको हो ।
बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूको बैठकले निर्धारित मिति १४ फागुनमै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, त्यसको भोलिपल्टै तीनै दलनिकटका विद्यार्थी नेताले चन्द माओवादी निकट विद्यार्थी संगठनसँग चुनावको मिति सार्ने सहमति गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयले यही १४ फागुनमा स्ववियु निर्वाचन गर्ने कार्यतालिका यसअघि सार्वजनिक गरेको थियो । विप्लव माओवादीनिकट अखिल क्रान्तिकारीले त्यसको विरोध गर्दै आएको थियो भने केही क्याम्पसमा तालाबन्दीसमेत भएको थियो ।
राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्