काठमाडौं, ११ फागुन । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले एक साताभित्रै निर्वाचनसम्बन्धी आचारसंहिता लागू हुने बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त यादवले साता दिनभित्रै आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता लागू गर्ने बताए ।
‘यही साताभित्रै आचारसंहिता लागू हुन्छ, शून्य सहनशीलताका आधारमा आचारसंहिता लागू गर्ने गरी छलफल भइरहेको छ,’ प्रमुख आयुक्त यादवले भने, ‘आचारसंहिता लागू हुनेबित्तिकै कर्मचारीहरूको सरुवा, बढुवा र नियुक्ति हुन दिँदैनौं ।’
यादवले निर्वाचनका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने गरी आयोगले काम अगाडि बढाएको समेत जानकारी दिए । ‘निष्पक्ष, स्वतन्त्र र स्वच्छ निर्वाचन गर्न सम्पूर्ण शक्ति लगाउने गरी तयारी भइरहेको छ,’ उनले भने ।
उनले आयोगसँग निर्वाचनका लागि ८२ दिन समय रहेको र त्यो समय निर्वाचनका लागि पर्याप्त भएको समेत बताए । तोकिएकै मितिमा निर्वाचन गर्न आयोग तयार रहेको समेत उनको भनाइ थियो ।
‘अब निर्वाचन हुँदैन कि भनेर शंका गर्नुपर्दैन निर्वाचन जुनै अवस्थामा पनि सम्भव छ, हामीले सरकारलाई सम्भव भएरै सो मिति प्रस्ताव गरेका छौं, सबै ढुक्क भए हुन्छ ।’ राजधानीमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्