भक्तपुर, १२ फागुन । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षालाई उत्पादन र रोजगारीसँग जोडेर मुलुकको आवश्यकताअनुसारको जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटिइभिटीको २९औँ वार्षिकोत्सव समारोहलाई आज सानोठिमीमा सम्बोधन गर्दै उहाँले संविधानमा समेत व्यावसायिक शिक्षालाई समृद्घ राष्ट्र निर्माणको आधारका रुपमा उल्लेख गरेकाले प्राविधिक शिक्षालाई विस्तार गर्नुपर्ने आवश्यकता औल्याएका हुन् ।
मन्त्री पौडेलले “प्राविधिक शिक्षा गुणस्तरीय र उत्पादनमुखी हुनुपर्छ, सिटिइभिटीले देशका कुनाकाप्चासम्म आफ्ना शाखा विस्तार गर्नुपर्छ,” भन्दै पुरानो शिक्षा नीतिले गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादन सम्भव नरहेकाले सरकारले शिक्षा नीतिमा परिवर्तन गर्नुपरेको बताए।
सिटिइभिटीका उपाध्यक्ष डा कुलबहादुर बस्नेत, सदस्य सचिव रमेश बखती, काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्मा, शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमलगायतले प्राविधिक शिक्षाको विकासका लागि उपयुक्त कार्यदिशा निर्धारण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा परिषद्का प्रशासकीय अधिकृत शारदाप्रसाद कर्माचार्यलाई सर्वोत्कृष्ट तथा कर्णाली प्राविधिक शिक्षालय जुम्लाका निर्माण प्रशिक्षक कृष्णवीर नेपाली, धवलागिरि प्राविधिक शिक्षालय लेते मुस्ताङका कृषि सहायक प्रशिक्षक जीवनध्वज बस्नेत, लहान प्राविधिक शिक्षालय सिरहाका निर्माण प्रशिक्षक सहायक रामसुन्दर यादव र जिरी प्राविधिक शिक्षालय जिरीका कार्यालय सहयोगी शिवबहादुर जिरेललाई उत्कृष्ट पदकसहित सम्मान गरिएको थियो ।
यसैगरी सेवा निवृत्त कर्मचारीहरु परिषद्का पूर्व सदस्य सचिव डा रामहरि लामिछाने, पूर्व निर्देशक शिवशङ्कर घिमिरे, उपनिर्देशक रमा श्रेष्ठ, विनोद श्रेष्ठ, वरिष्ठ स्वास्थ्य प्रशिक्षक बृहस्पति शर्मा कँडेल, प्रशासकीय अधिकृत सवला देवकोटा, प्राविधिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक वकिल झालाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्