काठमाडौं, २२ फागुन । उद्योगपति विनोद चौधरीले नवलपरासीको दुम्कौलीमा निर्माण गरेको शाश्वतधाममाको मंगलबार हुने उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वराजा ज्ञानेन्द्र शाह, श्रीश्रीश्री रविशंकर, शंकराचार्य जयेन्द्र सरस्वती एउटै मञ्चमा उपस्थित हुने भएका छन् ।
मंगलबार दिउँसो १२ बजे खजुराहो शैलीमा निर्माण भएको शाश्वतधाममाको मुल मन्दिरको गर्भ गृहमा प्राण सिञ्चित गरी यसको उद्घाटन हुने छ । उक्त अवसरमा सयौँ पण्डितको उपस्थितिमा धर्मसभा हुनेछ । पशुपतिनाथबाट समेत पण्डित सभामा जाँदैछन् । शाश्वतधाममा १२ राशि र २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी वर, पीपल, अशोकलगायत रूखका बिरुवा लगाइएको छ ।
शाश्वतधाम नेपालकै एक महत्वपूर्ण धार्मिक पर्यटकीयस्थलको रूपमा विकास हुने चौधरी ग्रुपका अध्यक्ष तथा शाश्वतधाम संस्थापक विनोद चौधरी बताउँछन् । ‘पूर्वीय सनातन धर्मप्रति आस्थावान सबैको भावनाको कदर स्वरूप निर्मित यो शाश्वतधाममा मानिसले आध्यात्मिक ऊर्जा प्राप्त गर्नेछन्’, संस्थापक चौधरी भन्छन्, ‘यहाँ मानिसले शान्तिपूर्ण तथा ऊर्जायुक्त वातावरणमा मानसिक शान्ति र आत्मीय आनन्दको अनुभव गर्न सक्नेछन् ।’
सनातन कालदेखि सम्पदाको रूपमा रही आएको आध्यात्मिक ज्ञानको गंगामा डुबुल्की मार्न चाहनेका लागि शाश्वतधाम एक उत्कृष्ट गन्तव्य बन्ने उनको विश्वास छ । शाश्वतधामका प्रमुख कार्यकारी अधिकृत आशुतोष चावलाले शाश्वतधाम स्थापनाका लागि उद्योगपति विनोद चौधरीलाई प्रेरणा दिएपछि यसको परिकल्पना गरिएको बताए । अन्नपूर्ण पोस्टमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्