सम्पादकीय

पार लाउँछन् पुरीले ?



काठमाडौं, २४ फागुन । राजदूत रणजीत राय फर्केपछि भारतले नेपालका लागि अब युरोप र पश्चिमा मुलुक बुझेका मन्जिभ सिंह पुरीलाई नेपालको नयाँ राजदूतमा पठाउने सिफारिस गरेको छ ।

नेपालमा रहँदा राजनीतिक विवादमा राजदूतहरू फर्किनु परेको तितो सत्य रायका पालामा पनि जारी रहेको थियो । अन्य राजदूतभन्दा अझ रायको कार्यकाल धेरै विवाद र प्रतिशोधात्मक क्रोधमा वितेको थियो । उनैको पालामा भारतीय राज्यसभामा समेत नेपालसँगको सम्बन्धका विषयमा राजनीतिक बहस भएको थियो ।

एकथरी भारतीय सांसदहरूले राय असफल राजदूत रहेको टिप्पणी पनि गरेका थिए । तर, यहि बेलामा पुरी नेपाल आउने तयारीमा छन् । नेपालमा चलिरहेको मधेस आन्दोलनलाई बल पुराउने काम गर्दागर्दै रायको विदाई र पुरीको स्वागतले कस्तो असर गर्न सक्छ ? ‘भारतको नेपाल कुटनीतिमा खासै फरक छैन । सिस्टम र निर्देशनले हुने भुमिकामा राजदूत चल्ने कारणले पनि खासै फरक नआउन सक्छ’, कुटनीतिक विज्ञहरू भन्छन्,‘अब आउने राजदूतको व्यक्तिगत चरित्र र वौद्धिकताको कुराले पनि केही असर गर्न सक्छ ।’

पश्चिम बुझेर नेपाल छिरेका पुरीको चुनौति नेपालमा चीनको उपस्थितिको विरोधमा नेपाललाई भारतपरस्त बनाउनु हुनेछ । भारत सरकारले पनि यहि चुनौतिबारे जानकारी दिएर पुरीलाई नेपालमा पठाउन लागेको हो ।

त्यसबाहेक भारतका अन्य स्वार्थहरूको भारी पुरीले बोकेर आउनेछन् । भारतीय संस्थापनले नेपालमा चीनको विकासका योजनालाई कमसल बनाएर भारतपरस्त अभियानलाई तिव्रता बनाउनसक्ने राजदूतलाई पठाउने गरेको छ । नेपाल सानो मुलुक भएपनि पश्चिमा र भारतको चासोको देश भएकाले अनुभवी र चलाख कुटनीतिक मामिलाकारलाई काठमाडौंमा भारतले झिकाउँदै आएको छ ।

संविधानसभा विघटन ताका नेपाल आएका राजदूत रणजीत रायको पालामा अर्को संविधानसभाको चुनाव मात्र भएको थिएन, नरेन्द्र मोदीको दुई पटकको भ्रमण पनि भएको थियो । त्यो विषयमा उनलाई भारत सरकारले सफल भनेपनि उनको कार्यकालमा नै भारतविरोधी भावना सतहसम्म नराम्रोसँग परेका कारणले अब नेपालमा आउने राजदूतको रणनीतिक अभियान नेपाल–भारत सम्बन्ध सुधार गर्नु हुनेछ ।

राकेश सुदका पालामा माओवादीविरुद्धको अभियानमा तत्कालिन भारतीय संस्थापनको सक्रियता रहेपनि त्यसले नेपाल–भारतको सम्बन्ध बलियो देखाएको थिएन । सोलुखुम्बुमा माओवादी नेता गोपाल किराँतीको जुत्ता खाएपछि सुद फर्किनु परेको थियो । भारतले त्यसपछि द्वन्द्वग्रस्त मुलुक बुझेका कुटनीतिक मामिलाकार जयन्तप्रसादलाई नेपालमा राजदूतका रुपमा पठाएको थियो । जयन्त प्रसादको कार्यकाल कुटनीतिक रुपमा सबल भएको ठम्याइएको थियो । तर, उनको पनि विरोध हुन भने छाडेको थिएन ।

माओवादी र सात दलबीच तत्कालिन समयमा भएको १२ बुँदे दिल्लि सम्झौताका बेला साक्षी रहेका रणजीत रायको आगमनलाई नेपाल भारत सम्बन्ध निर्माणमा नयाँ आयाम हुनसक्ने अनुमान गरियो । तर, रायको कार्यकाल पनि सुखद हुन सकेन । रायको विदाईको समयसम्म आइपुग्दा उनी निक्कै आलोचित मात्र भएनन्, उनलाई फिर्ता पठाउनका लागि नेपाल सरकारलाई संसदबाट, सडकबाट समेत अपिल भयो ।

यसको कारण थियो, नेपालमा चलिरहेको मधेस आन्दोलनमा रायले मलजल गर्नु र अनपेक्षित नाकाबन्दिको अवस्थासम्म ल्याउनु । नेपालको राजनीतिक मामलामा आवश्यकताभन्दा बढि चासो देखाउनुका कारणले पनि जानेबेलासम्म रायले सुखद विदाई पाएनन् । सीमित मधेसी नेताको विदाई बाहेक उनले सरकारमा रहेकाको पनि धन्यवाद र बधाई पाउन नसकेको जनप्रहार साप्ताहिकमा समाचार छ ।