सम्पादकीय

राजा ज्ञानेन्द्र शाह किन भेट्दैछन भारतीय अध्यात्मिक गुरु रवी शंकरलाई ?



काठमाडौं, २४ फागुन । नेपालको राजनीतिमा भारतीय अध्यात्मिक र धार्मिक गुरुको प्रभाव बढिरहेका बेला राजा ज्ञानेन्द्र शाह र भारतीय अध्यात्मिक गुरु रवी शंकरको भेट हुँदैछ । नवलपरासीको मन्दिर उद्घाटनका क्रममा यो औपचारिक भेट हुन लागेको हो ।
नेपालमा हिन्दु राज्य र राजतन्त्रको पुनस्र्थापना हुनसक्ने बहस चलिरहेका बेला भारतीय अध्यात्मिक र हिन्दु गुरुको राजासँगको भेटलाई नयाँ रोडम्यापको शंकाबाट हेरिएको छ । यो भेटले भारतीय संस्थापनसम्म राजाको बलियो पहुँच रहेको पुष्टि भइसकेको छ ।

नेपालको राजनीतिक अवस्थाको बारेमा रवी शंकरसँग बारम्बार छलफल गर्नका लागि राप्रपाका अध्यक्ष कमल थापा दिल्लिमा पुगिरहेका हुन्थे । रवी शंकरले भन्नासाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मान्ने भएकाले यस्तो भेट हुन्थ्यो । नेपालको नाकाबन्दि र मधेस आन्दोलनलाई भारतीय दृष्टिबाट साम्य पार्दै, नेपालमा राजतन्त्र स्थापनासम्मका अभियानमा रवी शंकरको भुमिका हुने चर्चाकाबीच ज्ञानेन्द्र र रवी शंकरको भेट हुन लागेको हो । यो भेटको चाँजोपाँजो नेपालका उद्योगपति विनोद चौधरीले गराएका हुन् ।

राजा र रवी शंकरको भेट नवलपरासीको देवचुली–२ दुम्कौलीमा हुने एकम्वेश्वर शिव मन्दिरमा हुने धार्मिक सभामा हुनेछ । यो भेटका लागि धार्मिक गुरु शंकराचार्य पनि पुग्नेछन् । ‘यो औपचारिक कार्यक्रम हो, त्यसबाहेक अरु केही हुने देखिएको छैन’, स्रोतले भन्यो,‘त्यसक्रममा सामान्यतया अनौपचारिक वार्ता पनि हुनसक्छ ।’

यसअघि पूर्वराजा भारत भ्रमणका गएका बेला रवी शंकरलगायतका धार्मिक गुरुहरूसँग भेट वार्ता गरी फर्किने गरेका थिए । भारतीय धार्मिक गुरुको अभियान नै नेपाललाई हिन्दु राज्यसहित राजा फर्काउनुपर्ने  भनी लाग्दै आएका छन् । त्यतिमात्र होइन, भारतीय सत्तारुढ पार्टीसँग सम्बन्ध राख्ने धार्मिक गुरुहरूले पनि नेपालमा राजाको आवश्यकता रहेको भन्दै लविङ गरिरहेका बेला यो भेटलाई अर्थपूर्ण रुपमा व्याख्या गरिएको जनप्रहार साप्ताहिकमा समाचार छ ।