काठमाडौं, ३० फागुन । प्रधानमन्त्री भएपछि दुईपटक नेपाल भ्रमण गर्दै राजनीतिक नेतृत्व स्तरमै सम्बन्ध कायम गर्ने बताएका नरेन्द्र मोदीको बाचा लामो समय टिकेन ।
नेपाल मामिलालाई पुनः पुरानै अभ्यासमा अर्थात् प्रशासनिक तहमै जिम्मा दिएका छन् उनल । जसले गर्दा यतिखेर नेपाल र भारतको सम्बन्ध ‘राजनीतिज्ञ भर्सेस कर्मचारी’ स्तरमै कायम हुन पुगेको छ ।
राजनीतिक तह ‘सेरेमोनियल’ मात्र देखिन थालेको छ । भारतीय प्रधानमन्त्रीको स्तरमा १७ वर्षसम्म नेपाल भ्रमण हुन सकेको थिएन, जसलाई मोदीले २०७१ साउनमा भ्रमण गरेर तोडे ।
त्यसको चार महिना नहुँदै मंसिरमा काठमाडौंमा १८ औं शिखर सम्मेलनमा सहभागी हुँदै राजनीतिक तहमा सम्बन्ध स्थापना भएको सन्देश फेरिदिए । त्यसको केही समयमै नेपाल मामिला विस्तारै प्रशासनिक तहमा छोड्दै गए ।
पुरानै शैलीको निरन्तरतामा फर्कियो सम्बन्ध । मोदीको स्तरमा पछिल्लो समय राजनीतिक विषयमा छलफल हुन सकेको छैन । राजनीतिक स्तरको जानकारी राख्ने तर सीधा प्रभावमा नराख्ने नीतिमा रहेका मोदी अहिले आन्तरिक रुपमा बलियो बने ।
उत्तर प्रदेश र उत्तराखण्डमा विजयपछि मोदी आफ्नो दल र संसद्मा बलियो भएका छन् । उनले आफूले भनेझैं ‘छिमेकी सँगै’ नीतिलाई अघि बढाउन सक्ने अड्कलबाजी बाहिर आएका छन् ।
अब नेपालमात्र नभएर अन्य छिमेक मामिलालाई आफैंले हेर्ने संकेत दिइसकेका छन् । आफैले भ्रमण गर्नुभन्दा अघिकै शैलीमा छोडेको नेपाल भ्रमणको अवस्थामा ल्याउन सक्ने लक्षणसहितको विश्लेषण भारतीय सञ्चारमाध्यममा आउन थालेको छ । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्