काठमाडौं, ८ चैत । आईजीपी बढुवा बिषयमा परेको रिटको अन्तिम सुनुवाई सोमबार सकिएपनि फैसला भने आज (मंगलबार) हुने भएको छ ।
कानुन व्यसायीहरूको बहस सोमवार नै सकिएता पनि समय अभावको कारण सर्वोच्चले फैसलाको पूर्णपाठ मंगलबार सुनाउने भएको हो ।
आइतबारदेखि सुरु भएको बहस सोमवार सकिएको थियो । रिट निवेदकका तर्फबाट शम्भू थापालगायत एक दर्जन कानुन व्यवसायीले बहस गरेपनि विपक्ष बनाइएका जयबहादुर चन्दका कानुन व्यवसायीले भने सर्वोच्चको निस्पक्षतामा प्रश्न चिन्ह् उठाउँदै बहस बहिस्कार गरेका थिए । तर सरकारको तर्फबाट भने न्यायाधिवक्ता र उप–न्यायाधिवक्ताले बहस गरेका थिए ।
सरकारले १ फागुनमा डीआईजी जयबहादुर चन्दलाई ३ फागुनबाट लागू हुने गरी आईजीपीमा बढुवा गर्ने गरेको निर्णयविरुद्ध अर्का डीआईजी नबराज सिलवालले रिट दायर गरेका थिए । सरकारको निर्णय बदर भए चन्दको आईजीपी बन्ने सपना तुहिन्छ । सदर गरे भोली नै चन्दले आईजीपीको फुली लगाउनेछन् ।
सर्वोच्च अदालतले सिलवालको रिटमा सुनुवाई गर्न प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वप्रसाद खतिवडा, डा आनन्दमोहन श्रेष्ठ र अनिलकुमार सिन्हाको पूर्ण इजलास गठन गरेको थियो । जनप्रहार साप्ताहिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्