काठमाडौं, १२ चैत । मकवानपुरकी ३० वर्षीया रञ्जिता घले गत १ फेब्रुअरीमा संयुक्त अरब इमिरेट्स (यूएई) पुगिन् । नेपालबाट सीधै उडा चार घण्टामात्रै लाग्ने यूएई पुग्न उनलाई दुई साता लाग्यो । कारण– उनी श्रम स्वीकृतिमा गएकी थिइनन् ।घरेलु कामदारलाई तस्करी गर्नेको बाटो नेपाल–दिल्ली–श्रीलंका घुम्दाघुम्दै आधा महिना बित्यो ।
उनलाई नेपालबाट पठाउने व्यक्ति थिए, भीमसेन गुरुङ । सारजाह विमानस्थल झरेपछि त्यहाँबाट टेकबहादुर मगरले ४५ किलोमिटर टाढा अजमान पुर्याए । उनलाई ‘मोनालाइजा लेबर्स रिक्रुटमेन्ट’ ले यूएई झिकाएको थियो ।
मोनालाइजले इथियोपिया, फिलिपिन्स, इन्डोनेसिया, श्रीलंका, भारत र बंगलादेशबाट हाउसमेड महिला ल्याउने काम गर्छ, जसमा नेपाल हेर्ने नाइके भने जीवन पुन र उनकी श्रीमती शिखा पुन हुन् ।
पीडित युवतीहरूका अनुसार नेपालबाट लगिएका महिलालाई यी दम्पतीले मागअनुसार यूएईका घरमा कामका लागि बेच्ने गर्छन् । ‘त्यहाँ पुग्दा दुई दर्जनजति नेपाली दिदीबहिनी थिए,’ उनले कान्तिपुरसँग भनिन्, ‘तर कानुनी रूपमा आउने कोही थिएनन्, सबै तस्करीकै सिकारमा परेका थिए ।’
अवैध बाटोबाट दिनहुँ २ सयभन्दा बढी नेपाली महिला
२१ वैशाख २०७३ मा सरकारले दोस्रो पटक ‘घरेलु कामदार निर्देशिका– २०७२’ लाई संशोधन गरेपछि खाडीमा वैध रूपमा हाउसमेड पठाउने बाटो खुल्ला भयो । जसमा अबुधाबीस्थित नेपाली दूतावासले हाउसमेड पठाउन संस्थागत प्रक्रिया अवलम्बन गर्यो । दूतावासमा यूएईका ९ म्यानपावर सूचीकृत भए ।
तिनले ३ अक्टोबरबाट नेपालमा सूचीकृतमध्ये २० म्यानपावरमार्फत हाउसमेड ल्याउन ६ सय मागपत्र पठाए । वैदेशिक रोजगार विभागका अनुसार १ सय ४६ भिसा प्रमाणीकरण भएकामा १ सय २० जना मात्रै महिला श्रम स्वीकृति लिएर गए ।
संस्थागत रूपमा खुल्ला भए पनि अवैध बाटोबाट घरेलु कामदारलाई तस्करी गर्न रोकिएन । घरेलु कामदार सरोकार समाजका अनुसार गैरकानुनी रूपले जोखिम मोलेर नेपाली महिला सेटिङ गरी त्रिभुवन विमानस्थल वा नेपाल–भारतको खुल्ला सिमानाको प्रयोग गरी भारत पुर्याई त्यहाँबाट श्रीलंका, यूएई हुँदै कुवेत, ओमन, साउदी, कतार र प्रतिबन्धित मुलुक इराक, सिरियासम्म दैनिक २ सयदेखि २ सय ५० जनासम्म अवैधानिक बाटोबाट लगिन्छन् । त्यसको मुख्य ट्रान्जिट यूएई हो ।
राहदानी विभागका अनुसार ६ वर्ष अवधिमा ७ लाख ६९ हजार नेपाली महिलाले राहदानी बनाएका छन् । जसमा विदेशस्थित नेपाली दूतावासबाट ८५ हजार ७ सय १७ ले बनाएका हुन् । जबकि वैदेशिक रोजगार विभागले झन्डै डेढ लाख मात्रै महिला कामदारलाई श्रम स्वीकृति प्रदान गरेको छ ।
‘बाँकी राहदानी बनाएका महिला कहाँ गए त रु’ प्रधानमन्त्रीको निजी सचिवालयमा कामदार उद्धार शाखामा रहेका सुशील ढुंगाना भन्छन्, ‘सबै पढ्न र युरोप त गएका छैनन् । ठूलो हिस्सा तस्करीमा परेका छन् ।’
तस्करीको बाटो
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार हाउसमेडका लागि तस्करले बाटोहरू आवश्यकताअनुसार परिवर्तन गर्दै आएका छन् । नेपाल–भारत खुल्ला सिमानाको प्रयोग गरी भारतको दिल्ली, बनारस, कोलकाता, लखनउ, चेन्नाई विमानस्थलबाट भिजिट भिसाको माध्यमबाट लैजाने गरिएको छ ।
खाडी देशमा सीधै जान रोकिएको अवस्थामा ती विमानस्थलबाट नक्कली प्रहरी रिपोर्ट बनाई श्रीलंका हुँदै यूएई पठाउने गरिन्छ । सरोकारवाला निकाय मौन बसेको अवस्थामा तस्करले सेटिङ गरी त्रिभुवन विमानस्थलबाटै सीधै उडाउँछन् ।
‘यूएईको भिजिट भिसा सहजै निस्कन्छ, फेरि यो भिसामा गएकालाई हाउसमेडको भिसामा मात्रै परिवर्तन गर्न पाउने व्यवस्था छ,’ यूएईका लागि कार्यवाहक राजदूत नेत्रप्रसाद टण्डनले भने, ‘यही कारण पनि तस्करी बढेको हो ।’
‘हामीसँग तालिम लिन महिला आउँछन् । त्यतिखेर सबैको राहदानी नम्बर राखिएको हुन्छ । सयौं त्यस्ता नम्बरबाट छडके जाँच गर्दा उनीहरू श्रम नवीकरण गरेर यूएई गइसकेको विवरण देखिन्छ,’ घरेलु कामदार सरोकार समाजका महासचिव डीबी तामाङले भने, ‘जबकि उनीहरू त्यसअघि खाडीका कुनै पनि देश गएकै हुँदैनन् ।’
वैदेशिक रोजगार कार्यालय ताहाचलमा यी शाखामा कार्यरत कर्मचारीलाई श्रम मन्त्रालयले सहयोग र सद्भाव राखेकाले कारबाही हुँदैन । ‘जो साँच्चिकै बाहिर गएर आएका छन्, उनीहरूसँग दूतावासको पत्र खोज्ने र दुस्ख दिने गर्छन्,’ उनले भने, ‘जाँदै नगएकालाई भने कमिसन लिएर श्रमस्वीकृति प्रदान गर्ने चलन छ ।’
तस्करी गर्ने काममा विमानस्थलको सम्बन्धित एयरलाइन्सको बोर्डिङ पास काउन्टर, अध्यागमन, प्रहरी चेक, वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका सम्बन्धित शाखा, व्यक्तिगत रि–इन्ट्री, वैधानिकीकरण, आईटी शाखाको मिलेमितोबिना सम्भव छैन । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्