सम्पादकीय

साउदीको पीडा बयान गरिसाध्य छैन



काठमाडौं, २४ चैत । घरेलु कामदारका रूपमा साउदी अरब पुगेकी एक नेपाली महिलालाई साहुले नाङ्गै बनाएर मरुभूमिको बीचमा लगेर राति छोडिदीए । यातना सहन नसकी ‘घर फर्कन देऊ’ भनेपछि साहुले उनलाई मरुभूमिको बीचमा फ्याँकिदिएका थिए ।

मरुभूमिमा दिनभर आँखा खोल्न सकिँदैनथ्यो । रात परेपछि निकै पर देखिने व्यक्तिलाई नियाल्दै त्यतैतिर उनी अघि बढिन् । भाको पेटमा मरुभूमिमा उनी निरन्तर केही रात हिँडेपछि राजमार्गमा पुगिन् । एक पाकिस्तानी ड्राइभरले देखपछि उनलाई रियादस्थित नेपाली दूतावास ल्याई छाडिदिए । दूतावासले उनलाई नेपाल फर्कायो ।

तीन वर्षअघि साउदीमै घरेलु कामदारका रूपमा कार्यरत एक नेपाली महिलाको रहस्यमय तरिकाले मृत्यु भयो । घरमालिकले तीन तलामाथिबाट हाम्फालेर भाग्ने क्रममा मृत्यु भएको बताए । सत्य पछि बाहिर आयो– भाग्ने क्रममा होइन, साहुले तीन तला माथिबाट उनलाई धकेलिदिएका कारण मृत्यु भएको थियो ।

चितवनकी एक महिलालाई घरेलु कामदारका रूपमा राख्ने साउदी घर मालिक रियादस्थित नेपाली दूतावास पुगे । उनी ती महिलाका लागि नयाँ पासपोर्ट बनाउन गएका थिए । दूतावासले नेपाली महिलासँग कुराकानी नगरी नयाँ पासपोर्ट दिन नमिल्ने बताएपछि घरमालिकले फोन लगाइदिए । फोनमा दूतावासका कर्मचारीसँग ती महिलाले आफूलाई पाँच वर्षदेखि थुनेर राखेको बताइन् ।

कुवेत हुँदै साउदी आइपुगेकी खोटाङकी एक महिला ११ वर्षसम्म तलब नदिई यातना दिएर राखिएको अवस्थामा साउदीको एक घरमा भेटिइन् । नेपाली दूतावासले उनको उद्धार गरी तलबसमेत भुक्तानी गर्न लगाई नेपाल पठाएको थियो ।

साउदी अरबमा कार्यरत नेपाली महिला घरेलु कामदारले दुःख पाएको यी केही प्रतिनिधि घटना हुन् । यस्ता थोरै घटना मात्र बाहिर आउँछन् । अन्य गुपचुप रहन्छन् । घरेलु कामदारका रूपमा साउदी पुगेका नेपाली महिलाको पीडा बयान गरिसक्नु छैन । घरबाट उम्केर नेपाली दूतावाससम्म आइपुग्न भ्याए उनीहरू आपूलाई सबैभन्दा भाग्यमानी ठान्छन् ।

नेपालले साउदीमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको वर्षौं भए पनि तस्करहरूले ‘सेटिङ’ मा नेपाली महिलालाई विभिन्न बाटोमार्फत साउदी पु¥याउने गरेका छन्

विगत दुई वर्षमा यस्ता यातना सहन नसकेर घरमालिकको पन्जाबाट उम्केर साउदीको रियादस्थित नेपाली दूतावास आइपुगेका सात सयभन्दा बढी नेपाली महिलालाई दूतावासले स्वदेश फर्काइसकेको छ । अहिले पनि यस्ता महिला दूतावासको सेल्टरमा २४ जना छन् भने साउदीको हाउसमेड डिपार्टमेन्टमा नौ जना छन् । ६ जना बुधबार स्वदेश फर्कंदैछन् ।
नागरिकमा समाचार छ ।