काठमाडौं, २४ चैत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको ट्रयाक असारसम्ममा खोलिसकिने भएको छ । अहिले ८० प्रतिशत ट्रयाक खुलेको छ ।बाग्लुङदेखि टाकुरीसम्मको १२ किमी ट्रयाक सेनाले खोलिसकेको छ ।
बाग्लुङ खण्डअन्तर्गत मालढुंगादेखि पालुङखोलासम्मको काम पनि सकिएको कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख सेनानी इन्जिनियर रेश्मीराज भट्टराईले बताए । अहिले टाकुरीदेखि छिस्तीको पालुङखोलासम्मको काम अघि बढाइएको उनले बताए ।
ठेकेदार कम्पनीमार्फत काम गर्दा करिडोर निर्माण अलपत्र भएपछि आयोजना सेनालाई जिम्मा दिइएको थियो । यो भारत र चीन जोड्ने सबभन्दा छोटो सडक हुनेछ । करिडोरले छुने अन्य जिल्लामा गाडी गुड्न थालिसकेको छ ।
अहिले दोस्रो खण्डअन्तर्गत कुचुरी भिर, डाङकाल, डाँडाखर्क भिर, छोरेलौवा र एक्लेबेलमा काम भइरहेको सेनाले जनाएको छ । पहरा र पत्थर भएकाले सेनाले बम विस्फोट गरी ट्र्याक खोलिरहेको छ । सो ठाउँमा पर्ने पाँचवटा भिरमा काम सम्पन्न भए असार मसान्तसम्म ट्र्याक खुलिसक्ने प्रमुख सेनानी इन्जिनियर भट्टराईले बताए ।
बेलिबृज निर्माण र सडक स्तरोन्नति हुँदै
करिडोरको गुल्मी खण्डमा सेनाले ट्र्याक खोलेपछि स्तरोन्नतिको काम पनि अघि बढाएको छ । अहिले सडक चक्लाउने, रिटेनिङ वाल उठाउने, कलभर्ट निर्माण गर्ने काम भइरहेको कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख सेनानी इन्जिनियर रेश्मीराज भट्टराईले बताए।
ट्रयाक खोल्न कडा चट्टान भएको बाग्लुङ र पाल्पा खण्डमा विस्फोटक पदार्थ प्रयोग गरेर निर्माण अघि बढाइएको छ । करिडोरमा २० वटा मोटरेवल पुल आवश्यक भएको आयोजनाले जनाएको छ । मोटरवेल पुलका लागि मात्र सात करोड रुपैयाँ निकासाको क्रममा रहेको इन्जिनियर भट्टराईले बताए ।
पर्यटकीय प्रवद्र्धनमा टेवा
करिडोरले प्रसिद्ध तीर्थस्थलहरू मुक्तिनाथ, गलेश्वर, बाग्लुङ कालिका, सेतीवेणी, रिडी, रानीघाट, राम्दीलगायतका स्थान जोड्नेछ । करिडोरले उत्तर—दक्षिण दु्रत सेवा दिने, भारतका पर्यटकलाई सजिलै मुक्तिनाथ लैजान सकिने स्थानीय बताउँछन् ।
सोमबार व्यवस्थापिका संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीसहित सरोकारवालाको टोलीले करिडोरको निरीक्षण गरेको थियो । अनुगमनका क्रममा अधिकारीले तोकिएको समयमा ट्र्याक खुलाउन सेनालाई निर्देशन दिए । सडक निर्माणका लागि बजेटको अभाव नहुने उनले बताए । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्