सम्पादकीय

आक्रामक युद्ध नीतिमा अमेरिका



काठमाडौं, २८ चैत । एक सातामा अमेरिकाले आक्रामक युद्धनीति लिएको छ । शुक्रबारमात्रै सिरियामा टोमहक मिसाइल आक्रमण गरेको अमेरिकाले कोरियाली समुद्रमा युद्धपोत पठाएको छ । कोरियाली प्रायद्वीपमा बढ्दो तनावबीच अमेरिकाले आक्रमणका लागि सक्षम युद्धपोत पठाएको हो ।

बुधबार सिरियामा भएको रासायनिक हमलापछि अमेरिका प्रत्यक्ष रुपमा युद्धमा उत्रिएको हो । सो रासायनिक हमलामा ८९ जनाको मृत्यु भएको थियो । सो रासायनिक हमला सिरियाली सरकारी सेनाले गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । बसर अल असद नेतृत्वको सरकारले भने त्यसलाई अस्वीकार गरेको छ ।

सिरियामा सोही विषयलाई लिएर ५९ वटा टोमहक मिसाइल आक्रमण गरेको अमेरिकाले हमलाका लागि सक्षम कार्ल विनसन टुकडीमा युद्धपोतका साथै एयरक्राफ्ट क्यारियर समेत कोरियाली समुद्रमा पठाएको छ ।

अमेरिकी आक्रमणमा सिरियामा ६ जना मारिएका थिए । यसले कोरियाली प्रायद्वीपमा तनाव झनै बढ्ने सम्भावना देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी प्यासिफिक कमाण्डले दक्षिण प्यासिफिक तर्फ गरिएको यो तैनाथीलाई बुद्धिमानीपूर्ण कदम भएको भन्दै यस क्षेत्रका लागि तयार रहेको जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रमलाई समाप्त पार्नका लागि चीनले साथ नदिए अमेरिका एक्लैले गर्न सक्षम रहेको बताएको एक सातापछि नै अमेरिकी युद्धपोत तैनाथ गरिएको हो ।

अमेरिकी प्यासिफिक कमाण्डका प्रवक्ता डेभ बेनहमले भने, ‘यस क्षेत्रमा सबैभन्दा खतरा उत्तर कोरिया हो किनकी गैर जिम्मेवार र आफ्नो मिसाइल र परमाणु हतियार निर्माण र परीक्षणले खतरा पैदा गरिरहेको छ ।’

हाम्रो निर्णय सही थियो : उत्तर कोरिया

यसैबीच उत्तर कोरियाले भने आफूले परमाणु कार्यक्रमलाई बलियो बनाउने आफ्नो निर्णय सही साबित भएको दावी गरेको छ । उसले सिरियामाथि अमेरिकी आक्रमणले आफ्नो निर्णय सही सावित भएको दाबी गरेको हो ।

उत्तर कोरियाली सरकारी मिडियाले एक सरकारी प्रवक्ताको हवाला दिँदै लेखेको छ, ‘शुक्रबार भएको हमला एक सम्प्रभु राष्ट्रका विरुद्ध असह्य आक्रामकता हो । यसको हामी कडा शब्दमा निन्दा गर्दछौं ।’

बुधबार सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा भएको रासायनिक हमलामा ८९ जनाको मृत्यु भएको थियो । त्यसलगत्तै अमेरिकाले शुक्रबार बिहानैदेखि सिरियामा टोमहक मिसाइल आक्रमण गरेर सिरियाका केही हवाई हड्डा समेत ध्वस्त बनाइदिएको थियो । राजधानीमा समाचार छ ।