काठमाडौं, ६ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार बुटवलमा गरेको कार्यक्रमलाई प्रहरी हस्तक्षेप गरेको छ । स्थानीय तहको चुनावको खारेजीको माग गर्दै चुनाव बिरोधी कार्यक्रम तथा जनता जागरणको लागि आयोजना गरेको कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गरेको हो ।
बुटवलको ट्राफिक चोकमा सभा सुरु हुनासाथ प्रहरीले मञ्च कब्जा गरेको थियो । चुनाव विरोधी गतिविधिका सन्देश प्रवाह गरेकाले केन्द्रको आदेशमा कार्यक्रम रोकेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए । सभाअघि नेपाल कम्युनिष्ट पार्टीले राजमार्ग चौराहाबाट नगरपरिक्रमा समेत गरेको थियो । नेकपाले सभा गर्ने भनेपछि बिहानैदेखि प्रहरीले सुरक्षा सर्तकता अपनाएको थियो । सभामा स्थानीय तह निर्वाचनको बिरोध गर्दै आएको थियो ।
सभामा पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगर, पोलिटव्यूरो सदस्य ओम पुन र चन्द्रबहादुर चन्द ९वीरजंग०लगायतले सम्वोधन गरेका थिए । कार्यक्रममा बुढाले सरकारलाई ‘पञ्चायती सरकार’को संज्ञा दिएका छन् । नाटकका रुपमा मञ्चन गरिएको स्थानीय तहको चुनाव खारेज हुनुपर्ने नत्र जनताले बहिष्कार गर्ने समेत उनले दाबी गरे ।
प्रमुख अतिथि बोल्दा बोल्दै प्रहरीले कार्यक्रम बिथोलेको हो । प्रहरीको हस्तक्षेपपछि नेकपाले कार्यक्रम बिथोलिएकोमा प्रहरी प्रशासनको बिरोध गरेको छ । प्रहरीले हस्तक्षेप गरेपछि कार्यक्रममा उपस्थित धेरै कार्यकर्ताहरु तितरवितर भएका थिए । विप्लव नेतृत्वको नेकपाले स्थानीय तहको चुनावको खारेजीको मागसहित एकीकृत जनजागरण तथा प्रतिरोध अभियान चैत २४ गते नवलपरासीको अमरापुरीबाट सुरु गरेको थियो । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्