काठमाडौं, ६ वैशाख । संयुक्त राष्ट्रसंघले काभ्रे जिल्ला अदालतले मैना सुनुवारको हत्यामा संलग्न तीन पूर्व सैनिक जवानलाई २० बर्षको जेल सजायको फैसला सुनाएकोप्रति स्वागत गरेको छ ।
नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा मैना हत्यामा संलग्न पूर्व सैनिक जवानलाई भएको सजाय फैसलालाई दशबर्षे द्वन्द्वका पिडितलाई न्याय सुनिश्चित गर्ने तथा आफन्त गुमाएकालाई राहत दिने बाटोमा एक महत्वपूर्ण कदमको रहेको जनाइएको छ ।
‘दण्डहीनताको अन्त्य गर्न तथा बिधिको शासन ब्यबस्थालाई सुदृढ गर्न यो फैसलाले सहयोग गरेको छ’ राष्ट्रसंघीय कार्यालयले भनेको छ । अब ढिला नगरी बिद्यमान नेपाली कानुन अनुसार अदालतको फैसला कार्यान्वयन गर्न नेपाल सरकारलाई राष्ट्रसंघले आह्वान पनि गरेको छ ।
वीरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा कार्यरत नेपाली सेनाका तत्कालीन कर्णेल बबि खत्रि, क्याप्ठेनद्वय सुनिल अधिकारी र अमित पुनले सुनुवारलाई सन् २००४ मा मैना सुनुवारलाई चरम यातना दिई हत्या गरेको प्रकरणमा काभ्रे जिल्ला अदालतले सोमबार उनीहरुलाई दोषि ठहर गरेको थियो ।
तर जिल्ला अदालतले उक्त घटनामा संलग्न भनिएका नेपाली सेनाका मेजर निरन्जन बस्नेतलाई चाहीँ सफाई दिएको छ । काभ्रे खरेलथोक निवासी मैना लाई माओवादीसँग साँठगाँठ रहेको आरोपमा सन् २००४ मा नेपाली सेनाका वीरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा कार्यरत सैनिक अधिकारीले घरबाट अपहरण गरी ब्यारेकमा लगि चरम यातना पछि हत्या गरेका थिए ।
सन् २०१५ फेब्रुअरीमा सर्वोच्च अदालतले दिएको आदेश अनुसार संक्रमणकालीन कानुन सशोधन गर्ने बिषयलाई चाँडै कार्यान्वयन गर्न तथा संक्रमणकालीन कानुनलाई अन्र्तराष्ट्रिय मापदण्डको बनाउन सरकारलाई राष्ट्रसंघले आग्रह पनि गरेको छ ।
१४ बर्षपछि दाहसंस्कार गर्ने तयारी
छोरी मैनाको हत्यामा संलग्न तीन सैनिक अधिकृतलाई जन्मकैद फैसला सुनाए पनि देवी सुनुवारको अनुहारमा उज्यालो छैन । काभ्रे अदालत परिसरमा मंगलबार फैसलाबारे बुझन आउनु भएकी देवी घट्नामा प्रत्यक्ष संलग्नलाई उन्मुक्ति दिइएकोमा निराश भएर फर्कनुभयो ।
उहाँ १४ वर्षदेखि न्यायको खोजीमा भौतारिदै आउनु भएको थियो । अदालतको फैसलाबाट अझै न्यायको प्रत्याभूति पाउन नसकेको उहाँको बुझाइ छ ।
घट्नामा प्रत्यक्ष संलग्न दोषी देखिएकाहरुको सजाय कम गर्नु र एक जनालाई सफाइ पाएको थाहा पाएसंगै आफु दुखी भएको बताउनुभयो । ‘कानुनमा जन्मकैद २० वर्ष रहेको छ तर मुलुकी ऐन अदालती बन्दोबस्तीको १८८ नम्बर लगाएर जम्मा पाँच वर्ष मात्र सजाय गरिएको रहेछ’ उहाँले भन्नुभयो ‘सैनिक अदालतले नै दोषी ठहराई कारबाही गरेको क्याप्टेन निरञ्जन बस्नेतलाई सफाई पाएको प्रति मेरो आपती छ ।
यसका लागि पुन उच्च अदालत जान्छु ।’ उहाँले फैसलाको पुर्ण पाठको माग गर्दै अदालतमा निवेदन दिनु भएको छ । फैसलाको पूर्ण पाठ प्राप्त हुनासाथ अरु प्रक्रियामा लाग्ने उहाँले जानकारी दिनुभयो।
जिल्ला अदालत काभ्रेका न्यायधिस मोदीनी प्रसाद पौड्यलको ईजलासले आइतबार सुनाएको फैसला अनुसार हत्यामा संलग्न महासेनानी बबी खत्री, अमित पुन र सुनिल अधिकारीलाई जन्म कैदको फैसला सुनाइएको थियो ।
मैना सुनुवार हत्याकाण्डमा संलग्न रहेको भनिएका क्याप्टेन निरञ्जन बस्नेतलई भने महलको १३९३० बमोजिम घटनामा आदेश पालना मात्रै गरेका भन्दै अदालतले सफाई दिएको थियो ।
सशस्त्र द्धन्दको समयमा खरेलथोक गाविस–६ स्थित भगवती मावि कक्षा ९ मा अध्ययनरत मैनालाई २०६० साल फागुन ५ गते तत्कालीन शाही सेनाले पाँचखालस्थित तत्कालीन वीरेन्द्र सैनिक शान्ति तालिम केन्द्रमा चर्को यातना दिई हत्या गरेको थियो ।
मैना स्कुल जाँदै गर्दा १५ जनाको समूहमा रहेका सुरक्षाकर्मीले ‘विद्रोही माओवादी’ भएको कारण देखाउँदै अपहरणको शैलीमा केन्द्रमा ल्याई स्तनमा करेन्ट लगाएर चरम यातना दिई हत्या गरेको र गोप्य रुपमा तालिम केन्द्रकै जङ्गलमा गाडेको नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको थियो । अन्नपुर्ण पोष्टमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्