काठमाडौं, ७ वैशाख । आर्थिक वर्ष २०७३/०७४ चैत्र मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७३्/०७४ चैत महिनासम्मको राजस्व संकलनको लक्ष्य १ खर्व ६५ अर्व १६ करोड ४ लाख २५ हजार रहेकोमा १ खर्व ७२ अर्व १७ करोड ४ लाख ५९ हजार संकलन भई लक्ष्यको तुलनामा १०४ प्रतिशतको प्रगति भएको छ भने गत वर्षको तुलनामा ३२ प्रतिशतले वृद्धि भएको छ।
शीर्षकगत रूपमा हेर्दा आयकर तर्फ ९५ अर्व ३९ करोड ५६ लाख ४५ हजार, मूल्य अभिवृद्धि कर ४३ अर्व ५ करोड ४६ लाख ५६ हजार र अन्तःशुल्क तर्फ ३२ अर्व ३६ करोड ४५ लाख ७६ हजार रूपैयां संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ आयकर, वहालकर, व्याजकर गरी १०७ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ ९९ प्रतिशत र अन्तशुल्क तर्फ १०४ प्रतिशत हो ।
त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ५९ करोड ४४ लाख ५४ हजार र ७६ करोड ११ लाख २८ हजार रूपैयां संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९५ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८६ प्रतिशत संकलन भएको छ।
गत वर्षको तुलनामा आयकर वृद्धिदर ३२ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २६ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३९ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २५ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३१ प्रतिशत रहेको छ । चैत्रसम्मको अवस्था हेर्दा यस विभागले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ भने यस आर्थिक वर्ष २०७३/७४ को वार्षिक लक्ष्य २ खर्व ३३ अर्व ६० करोड १५ लाख १७ हजार समेत पूरा हुने गरी कार्य सम्पादन गरिएको छ। अन्नपुर्णमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्