सम्पादकीय

१५ करोडको जग्गा कीर्तेमा माओवादी नेतादेखि पत्रकारसम्म



काठमाडौं, १२ वैशाख । झापा शनिश्चरेका जीवन विष्टको नाममा रहेको १५ करोड मूल्यको जग्गा कीर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता प्रहरीले पुष्टी गरेको छ । घटनामा संलग्नहरुलाई सार्वजनिक गर्न सोमबार भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा एसपी शैलेस थापाले भने, ‘घटनामा समाजका प्रतिष्ठित व्यक्तिहरुको संलग्नता देखिन्छ ।’

जग्गा किर्ते काण्डका मुख्य सूत्रधार टेलिभिजन पत्रकार पुजन घिमिरे रहेको प्रहरीको दाबी छ । घिमिरेकै योजनामा विष्टको नामको अनारमनी–४ मा रहेको कित्ता नम्बर १६९ र १७० को करिब ५ कठ्ठा १६ धुर जग्गा कीर्ते गरि हडप्न खोजिएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी थापाले बताए ।

घटनामा संलग्नमध्ये प्रहरीले जिल्ला प्रशासनका खरदार तेजेन्द्र न्यौपाने र कांग्रेसका कार्यकर्ता भूपू कान्छा भनिने अजय राईलाई गत चैत २७ गते, भद्रपुरका व्यापारी प्रेम न्यौपानेलाई २८ गते र बाहुनडाँगीका राजु कुँवरलाई चैत ३० गते प्रहरीले पक्राउ गरेको थियो ।

पत्रकार घिमिरेसहित उनका सहयोगी पत्रकार अर्जुनधारा १ वस्ने शम्भु दाहाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य अग्नी भनिने राजु आचार्य, माओवादी कार्यकर्ता लक्ष्मण बस्नेत र बिर्तामोडका ओम शिवाकोटी फरार रहेको एसपी थापाले जनाए । फरार अभियुक्तहरुलाई पक्राउ गर्न भारत र जिल्ला बाहिरका अन्य स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको थापाले जनाए । ‘फरारहरु चाँडै पक्राउ पर्ने हाम्रो विश्वास छ’, एसपी थापाले भने ।

अभियुक्तहरुलाई सोमवार थप अनुसन्धानका लागि तेस्रो पटक १० दिनको म्याद थप गरिएको छ । जग्गाधनी विष्टले गत माघ १२ गते बिर्तामोडको एभरेष्ट होटलबाट अपहरण गरी गरामनीको शुभकामना होटलमा बन्धक वनाएर डर देखाएर करोडौ मूल्यको जग्गा हडपेको भनी इलाका प्रहरी कार्यालयमा गत चैत २५ गते किटानी जाहेरी दिएका थिए । जाहेरीको आधारमा चार जनालाई प्रहरी पक्राउ गरेको हो । कान्तिपुरमा समाचार छ ।