सम्पादकीय

कांग्रेसको घोषणापत्र बजेटजस्तै



काठमाडौं, १३ वैशाख । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बर्सेनि तीन लाखभन्दा बढीलाई रोजगारी दिनेदेखि बर्सेनि एक खर्ब विदेशी लगानी ल्याउनेसहितका महत्वाकांक्षी योजनासहितको निर्वाचन घोषणापत्र ल्याएको छ । ३१ वैशाखको निर्वाचन आउन १९ दिन मात्र बाँकी हुँदा कांग्रेसले मंगलबार जारी गरेको घोषणापत्र सरकारको नीति, कार्यक्रम र बजेटजस्तै छ ।

केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमा सभापति शेरबहादुर देउवाले समग्र जनतालाई स्थानीय शासनमा बलियो बनाउने र जनताको पहुँच बढाउने गरी ल्याइएको घोषणापत्रले सफलता प्राप्त गर्ने बताए । ‘कांग्रेसको नेतृत्वमा नयाँ संविधान–कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ लाई मूल नारा मान्दै कांग्रेसले राजनीतिक परिवर्तनमा आफ्नो अमूल्य योगदान रहेको र अब राजनीतिक परिवर्तनका मुद्दालाई संस्थागत गर्न नेतृत्व प्रदान गर्ने जनाएको छ ।

महत्वाकांक्षाले भरिएको घोषणापत्र

कांग्रेसले ल्याएको घोषणापत्रमा हरेक वर्ष सय अर्बबराबरको विदेशी लगानी भित्राउने, स्वदेशी र निजी लगानीले बर्से्नि तीन लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने, गरिबीको रेखामुनि रहेका जनताको हिस्सा तीन प्रतिशतभन्दा कम गराउने, अधिकांश नेपालीलाई मध्यवर्गीय स्तरका बनाउने र ९५ प्रतिशत नेपालीलाई साक्षर बनाउने महत्वाकांक्षी १० वर्षे योजना अगाडि सारेको छ ।

कांग्रेसको १० वर्षे योजनामा औसत नेपालीको आयु ७७ वर्ष पुर्याउने, १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । त्यस्तै, काठमाडौं–मधेस एक्सप्रेसलगायत चारदेखि ६ लेनका हजार किलोमिटरभन्दा बढीको द्रुतमार्ग, पाँच सय किलोमिटरभन्दा बढी रेल्वे लाइन, ५० हजारभन्दा बढी कालोपत्रे सडक र टनलको सञ्जाल निर्माण, चारवटा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयलाई १० वर्षको पार्टी योजनामा पारेको छ ।

प्रत्येक वर्ष ३२ लाखभन्दा बढी पर्यटक नेपाल भित्राउने र ४० लाख नेपालीलाई पर्यटन उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने, तराई–मधेसका र पहाडका १८ लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाह्रै महिना सिञ्चित गर्ने र प्रमुख तरकारी र खाद्यान्नमा नेपाल आत्मनिर्भर बन्ने विषयलाई पनि १० वर्षे योजनामा समेटेको छ । मोबाइल फोनको पहुँच जनसंख्याको अनुपातमा १३५ प्रतिशत पुगेको र इन्टरनेट सबै गाउँ तथा नगरपालिकामा उपलब्ध गराउने योजना पनि कांग्रेसको छ ।

एक विपन्न परिवारलाई सीप सिकाइ केन्द्रमा एक निःशुल्क अवसर कार्यक्रम लागू गर्ने घोषणा पनि कांग्रेसले गरेको छ । केन्द्रीय प्रादेशिक र स्थानीय तहमा पत्रपत्रिकालगायत अन्य प्रकाशनमा कल्याणकारी विज्ञापनलाई प्रोत्साहन दिँदै एक वडा एक बुलेटिनको अभियानमार्फत नागरिकलाई सुसूचित गराउने कार्यक्रम पनि कांग्रेसको छ ।

भूकम्प नगएको क्षेत्रमा पनि ५० हजार दिने

१२ वैशाखमा गएको भूकम्पको दुई वर्ष पुग्दासम्म पीडितका लागि घर नबनिरहेका वेला कांग्रेसले भूकम्प नै नगएको क्षेत्रमा भूकम्प प्रतिरोधात्मक घर बनाउन ५० हजार रुपैयाँको प्रोत्साहन अनुदान दिने घोषणा पनि गरेको छ । नयाँ पत्रिकामा समाचार छ ।