सम्पादकीय

विधेयक पारित हुन नदिने कसरतमा विपक्षी गठबन्धन



काठामाडौं, १५ वैशाख । एमाले नेतृत्वको आठ दलको विपक्षी गठबन्धनले संविधान संशोधनको पक्षमा दुईतिहाइ बहुमत पुग्न नदिने गृहकार्य थालेको छ । विपक्षी गठबन्धनको बिहीबारको बैठकले संविधान संशोधन विधेयकको पक्षमा दुईतिहाइ पुग्न नदिन सबै प्रयास गर्ने निर्णय गरेको हो ।

‘संविधान संशोधन विधेयक पारित हुन नदिन सबै प्रयास केन्द्रित गर्ने निर्णय भएको छ,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘विधेयक पारित गर्न सत्तापक्षले दुईतिहाइ पु¥याउनुपर्ने हो । हामीले मत हाल्ने होइन । हाम्रो मत सुरक्षित गर्न सबै खालको प्रयास गर्छौँ । हामीसँग एकतिहाइ छँदै छ ।’

विपक्षी गठबन्धनमा नौ दल रहे पनि बिहीबारको बैठकमा भने एमालेसहित नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, परिवार दल, दलित जनजाति पार्टीसहित ६ दलका नेताहरू मात्र सहभागी थिए । नेपाः पार्टी र मधेस समता पार्टीका नेता सहभागी थिएनन् भने शिवलाल थापा नेतृत्वका राष्ट्रिय जनमुक्ति पार्टी भने विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपालसँग एकीकरण भइसकेको छ । तर, दुई पार्टीका प्रतिनिधि अनुपस्थित रहे पनि विपक्षी गठबन्धनमै रहेको एमालेको दाबी छ । नयाँ पत्रिकामा समाचार छ ।