सम्पादकीय

नमोबुद्ध ४ र धुलिखेल १२ मा आज निर्वाचन



काठमाडौं, ३ जेठ । एक युवकको मृत्युको बिषयलाई लिएर स्थगित भएको नमोबुद्ध नगरपालिका ४ को निर्वाचन आज हुने भएको छ । शनिवार गोली लागेर स्थानीय २८ बर्षीय नवराज पाठकको मृत्युपछि उत्पन्न विवादका कारण जनक उच्च मावि मतदानस्थलमा मतदाताले निर्वाचन बहिष्कार गरेका थिए । सोमबार र मंगलबार जिल्ला प्रशासन कार्यलयमा स्थानीय राजनीतिक दल, नागरिक समाज, पीडित पक्षसहितको बैठकले चुनाव गर्ने सहमति गरेको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले जानकारी दिए ।

शनिवार नै पाठकलाई गृह मन्त्रालयले सहिद घोषणा गर्दै १० लाख क्षतिपुर्ति दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट अनुमोदन हुन बाँकी मन्त्रालयको निर्णयमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्ने उल्लेख गर्दै मृतकको श्रीमतीलाई योग्यता अनुसारको स्थानीय तहमा रोजगारी, बालबच्चाको शिक्षा दिक्षा सरकारले गर्ने उल्लेख भएको परिपत्र प्रशासनमा आइसकेको छ ।

पीडितका आफन्त र स्थानीयले सशस्त्र प्रहरीको गोली लागि मृत्यु भएको दाबी गर्दै तत्काल दोषी माथि कार्वाही गर्न माग गर्दै आएका थिए । यसअघि धुलिखेल १२ मा पनि राप्रपाका तर्फबाट वडा सदस्य पदका उम्मेदवार सुकुलाल तामाङको मृत्यु भएपछि स्थगित भएको निर्वाचन जेठ ३ गतेको लागि तोकिसकिएको छ ।
कान्तिपुरमा समाचार छ ।