सम्पादकीय

महाभियोगबारे संसद्ले आज के गर्ला ? यस्तो छ सरकारको रणनीति



काठमाडौं, २४ वैशाख । सबैतिर चासो छ – सर्वोच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ? प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावमै छलफल गर्न आइतबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ ।

आन्तरिक परामर्शमा रहेकी सभामुख ओनसरी घर्तीले आइतबारको बैठक सूचना टाँस गरेर स्थगित गर्ने सम्भावना बढेको उनीनिकट स्रोतहरुको भनाइ छ । ‘सभामुख ठ्याक्कै यही गर्ने भन्ने निष्कर्षमा पुगेकी छैनन, विभिन्न विकल्पमा उनलाई सुझाव आइरहेको छ ।

उनी अझै आन्तरिक छलफलमै छिन । ३१ वैशाखको पहिलो चरणको स्थानीय तहको चुनावको मिति नजिक छ । त्यसैले सभामुखले अब ३१ वैशाखअगाडि संसद् बैठक नराख्नेतिर सोचिरहेको देखिन्छ’, सभामुखनिकट स्रोतले भन्यो ।

सरकार र सत्तारुढ दलले कार्कीको एक्सन हेरेर थप कदम चाल्ने रणनीति बनाएका छन् । कांग्रेसले प्रधानन्यायाधीशको ‘एक्सन’ हेर्न आइतबार सूचना टाँस गरेर संसद् बैठक स्थगित गर्ने र उनले लिने ‘एक्सन’ पछि अर्को संसद् बैठकबाट अगाडि बढ्ने विकल्प लिएको छ । यस विषयमा सत्तारुढ दलसँग पनि आइतबार बिहानसम्म छलफल गरेर निर्णय लिने कांग्रेसको तयारी छ  ।  नयाँ पत्रिकामा समाचार छ ।