सम्पादकीय

चुनाव जिते पनि काम गर्न रोक



काठमाडौं, ३० वैशाख । स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले शपथ लिने कानुन अझै बन्न सकेको छैन । कानुन नबन्दा निर्वाचित जनप्रतिनिधिले तत्काल काम गर्न पाउने छैनन् ।

निर्वाचित जनप्रतिनिधिहरूले केका आधारमा शपथ ग्रहण गर्ने भन्ने कानुनी आधार अहिलेसम्म तय भएको छैन । आगामी आइतबार वैशाख ३१ गते प्रदेश नं. ३, ४ र ६ मा गरी ३८१ स्थानीय तहमा निर्वाचन हुँदैछ । कानुनी अभावमा निर्वाचित जनप्रतिनिधिहरूले गर्ने पहिलो काम शपथ ग्रहणमै समस्या आउने निश्चित छ ।

स्थानीय शासन विज्ञ एवम् अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले निर्वाचित जनप्रतिनिधिहरूले निर्वाचित भएपछि गरिने पहिलो कामको कानुनी आधार अहिलेसम्म तय नभएको बताए । उनका अनुसार स्थानीय तहको शासन सञ्चालन गर्न बनेको विधयेकमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले गर्ने सम्पूर्ण कामको कानुनी प्रक्रिया उल्लेख गरिएको तर उक्त विधयेक अहिले संसद्मा विचाराधीन छ ।

सरकारले आगामी जेठ ४ गतेसम्मका लागि संसद् बैठक स्थगन गरिसकेको छ । ज्ञवालीले भने, ‘वैशाख ३१ गते स्थानीय तहको निर्वाचन भएपछि जेठ २/३ गतेदेखि परिणाम आउन थाल्छ, त्यसपछि निर्वाचित जनप्रतिनिधिहरूले प्रमाणपत्र पाएपछि पहिलो काम नै शपथ ग्रहण गर्ने हो तर शपथ ग्रहण केका आधारमा गर्ने भन्ने कुनै कानुनी आधार छैन ।’
संसदमा विचाराधीन स्थानीय तहको शासन सञ्चालन गर्न बनेको विधयेक ऐनमा रूपान्तरण हुन करिब तीन साता लाग्न सक्ने अनुमान ज्ञवालीको छ । गोरखापत्रमा समाचार छ ।