काठमाडौं, २० जेठ । मुलुकको ४० औं प्रधानमन्त्री चयनका लागि संसद सचिवालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना टाँसेर प्रधानमन्त्री निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन ।
सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अन्तर्गत आज मनोनयन दर्ताको कार्यक्रम छ भने आईतबार निर्वाचन हुनेछ । आज बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने, अपरान्ह साढे ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाश गर्ने कार्यक्रम छ ।
आइतवार विहान ११ बजे उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल गरी निर्वाचन गर्ने कार्यक्रम छ । भरतपुरमा स्थगित मतगणनाका लागि सत्तारुढ दललाई दबाब दिन प्रमुख प्रतिपक्षी एमालेले संसद अवरुद्ध गरेपछि सूचना टाँसेर निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हो ।
सहमतीय सरकार गठन गर्न दलहरु असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गत बुधवार बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित गर्न संसदलाई पत्राचार गरेका थिए । राष्ट्रपतिको पत्र प्राप्त भएपछि सभामुखले बैठकलाई त्यसको जानकारी दिने, निर्वाचन मिति घोषणा गर्ने र निर्वाचन कार्यक्रम प्रकाशित गर्न मुख्य निर्वाचन अधिकृत संसद्को महासचिवलाई तोक्ने अभ्यास छ ।
यसैबीच सभामुख ओनसरी घर्तीले संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा दलहरुसँग पटक पटक छलफल गर्दा पनि सहमति नभएपछि प्रधानमन्त्री चयनका लागि सूचना टाँसिएको बताए ।
सिंहदरबारस्थित सभाुमख कै कार्यकक्षमा तीन दलका प्रमुख सचेतक र नेतासँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रक्रियामा सबै दल सकारात्मक भएकाले सूचना प्रकाशित गरेको बताए । घर्ती संविधान र संसदको नियमावली मै रहेर नयाँ प्रधानमन्त्री चयनका लागि सूचना प्रकाशित गरेको बताए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका कंग्रेस नेता रमेश लेखकले संसद अवरुद्व रहेको अवस्थामा प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता लगायतका प्रक्रिया सूचनाबाट अघि बढाउन सकिने सुझाव दिएको जानकारी दिए ।
यस्तै माओवादी केन्द्रका नेता रामनारायण विडारीले पनि प्रधानमन्त्री चयन गर्ने विषय संसदको नियमावलीको नियम ४९ अनुसार भएकाले कानुन सम्मत भएको बताए । उनले चितवनस्थित भरतपुर महानगरपालिकाको मतगणनाको विषयलाई लिएर प्रधानमन्त्री चयन प्रक्रियालाई प्रभावित पार्न नहुने सुझाव दिएको बताए ।
यद्धपि अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको एमालेले भने भरतपुर महानगर पालिकाको मतगणना सुरु गरेर संसद खुलाउनुपर्ने अडान लिएको छ । सो पार्टीका प्रमुख सचेतक भानुभक्त ढकालले जारी गतिरोध हटाएर सबै दललाई प्रधानमन्त्री चयन प्रक्रियामा सहभागी हुने वातावरण बनाउनुपर्ने बताए । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्