काठमाडौं, १४ असार । धनगढी उपमहानगरपालिका–४ खानेपानी टोलमा आफैँले बोकेको बम विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडाका करिब २८ वर्षीय चन्द्र सिंहको मृत्यु भएको हो ।
उनी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य भएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए । जिएच एन्ड सन्स होटेलको पछाडि राति ९ बजेर ५५ मिनेटमा बम विस्फोट भएको थियो । विस्फोटपछि गम्भीर घाइते भएका सिंहको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा राति ११ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।
बमले रक्ताम्य भएको अवस्थामा उनलाई उद्दार गरेर प्रहरीले अञ्चल अस्पताल पु¥याएको थियो । घटनास्थलबाट प्रहरीले सिंहको परिचय खुल्ने कागजात फेला पारेको छ । मृत्यु हुनुअघि बोल्ने अवस्थामा रहेका सिंहले नै आफ्नो परिचय दिएको प्रहरी उपरीक्षक चन्दले बताए ।
उनले भने, ‘घाइते सिंहको शरीर क्षतविक्षत थियो, उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो, अस्पताल पु¥याउँदासम्म बोलिरहेका थिए । त्यसपछि बेहोस भएका थिए ।’ उपचारकै क्रममा सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको थियो । घटनास्थल सेती अञ्चल प्रहरी कार्यालयबाट करिब तीन सय मिटरको दूरीमा छ । प्रहरीलाई चुनौती दिने तथा उम्मेदवारलाई आतंकित गर्ने मनसायले नेकपाले बम विस्फोटन गराउन खोज्ने क्रममा घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
राति बन्द रहेको होटेलछेउमा रहेको सानो गल्लीबाट सिंह पछाडि गएको हुन सक्ने प्रहरीको अनुमान छ । उनी होटेलको पर्खाल नाघेर भित्र पसेको र होटेलको माथिल्लो तलामा उक्लिन खोज्ने क्रममा खस्दा बमसँगै विस्फोटनमा परेको हुन सक्ने बताइएको छ । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्