बेसीसहर, १४ असार । विद्युत् उत्पादन बढ्दा लोडसेडिङ घट्नुपर्ने साधारण विश्वास भए पनि लमजुङमा भने यसको उल्टो भएको छ । बढी उत्पादन भएकै कारण लमजुङका जनताले लोडसेडिङको मार खेप्नुपरेको छ ।
वर्षाका कारण पानीको बहाव बढेसँगै जिल्लाका सबै जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेपछि वितरण लाइनमा समस्या आएको छ ।
जसका कारण लमजुङमा छिनछिनमा बत्ती जाने र लोडसेडिङ हुने समस्या बढ्न थालेको छ। वर्षायाम सुरु भएसँगै लमजुङमा रहेको ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए, ४.४ मेगावाटको खुदी, पाँच मेगावाट क्षमताको सिउरीखोला, ४.४ मेगावाटको राँधी, २ मेगावाटको छ्याङ्दी र एक मेगावाटको स्याँगे जलविद्युत् आयोजनाबाट पूरै क्षमतामा विद्युत् उत्पादन भइरहेको छ ।
उत्पादित विद्युत् जिल्लामा खपत भएर बाँकी रहेको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ तर आयोजनाबाट पूरै क्षमतामा विद्युत् उत्पादन हुँदा प्रसारण लाइनले धान्न नसकेपछि ‘ट्रिपिङ’को समस्या आएको हो । वितरणमा समस्या आएपछि दैनिक दर्जनौँ पटक विद्युत् जाने–आउने गरेको छ ।
‘विद्युत् ट्रिपिङ हुँदा ढुक्कसँग काम गर्न पाइएको छैन, लमजुङ उद्योग वाणिज्य सङ्घका तृतीय उपाध्यक्ष एवं लमजुङ आँखा उपचार केन्द्रका प्रोप्राइटर अशोक अधिकारीले भने ।
विद्युत् ट्रिपिङका कारण जिल्लामा सञ्चालित सञ्चारमाध्यमका साथै उद्योग कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय, होटल रेस्टुराँ आदि सबै प्रभावित भएका छन् ।
कमजोर संरचनाका कारण यसअघि कहिलेकाहीँ विद्युत् जाने गरे पनि आजभोलि छिनछिनमै जान थालेको छ । जिल्लालाई लोडसेडिङ मुक्त भनिए पनि छिनछिनमै बत्ती जाने आउने गरेको छ ।
यहाँका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा सो ऊर्जा जिल्लामा खपत हुन नसकेको र लोड धान्न नसकेका कारण ३३ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् दमौली पठाइएको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।
उनका अनुसार ७० मेगावाटको मध्यमस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए को गरी १२० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाइएको र बाँकी स्थानीय साना आयोजनाका विद्युत्लाई दमौली पठाइएको छ । गोरखापत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्