काठमाडौं, २१ असार । सडक विभाग र ट्राफिक प्रहरीको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा ६ सय जेब्राक्रस राखिने भएको छ । काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलको समन्वयमा बनेको उपत्यकाको पूर्वाधार एवं यातायात व्यवस्था सुधार समितिले जेब्राक्रस राख्ने सडकको पहिचान गरेपछि उक्त प्रक्रिया अगाडि बढाउन लागिएको छ ।
हाल काठमाडौंमा तीन सयवटा जेब्राक्रस छन् । सडकको पूर्वाधारविनै सडक प्रयोगकर्तालाई जरिवाना तोक्ने कार्य राम्रो नभएको र जेब्राक्रस थप गरे दुर्घटना न्यूनीकरणमा समेत ठोस पहल गर्ने बुझाइ समितिको छ । गत आइतबार मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा बसेको समितिको बैठकमा शाक्यले ‘कामको परिणाम तत्काल देखिनुपर्यो ।
समिति गठन भएदेखि अहिलेसम्म के–कति सुधार भए ?’ भनेर कड्किएपछि पौडेलले समितिका कार्य प्रगतिबारे विस्तारमा उल्लेख गरेका थिए । पौडेलले १५ दिनभित्र राजधानीवासीलाई सुधारको महसुस हुने खालको कामको तयारी भइरहेको जानकारी बैठकमा गराएका थिए ।
वर्षातमा ढलबाट बाहिर निस्किएको माटो सफा गर्ने, कालोपत्रे गरेको केही दिनमै सडक भत्किनेजस्ता समस्या समाधान गर्न समितिमा भएका कार्यालयले समन्वयमा काम गर्ने सहमति भएको जवाफ पौडेलले दिए । अन्नपूर्ण पोस्टमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्