सम्पादकीय

स्थानीय तह निर्वाचनः एमाले पहिलो, कांग्रेस दोस्रो



काठमाडौं, २४ असार । स्थानीय तहको दुई चरणको निर्वाचनबाट प्रमुख राजनीतिक दलहरूको राजनीतिक हैसियत फेरबदल भएको छ ।

स्थानीय निर्वाचनले संसदीय गणितमा तलमाथि नपारे पनि जनमत बदलिएको स्पष्ट देखाएको छ । एमाले पहिलो दलका रूपमा स्थापित भएको छ भने कांग्रेस दोस्रो दलमा खुम्चिएको छ । यसअघि २०७० को निर्वाचनमा कांग्रेस पहिलो दलका रूपमा थियो ।

वैशाख ३१ मा भएको प्रदेश नम्बर ३, ४ र ६ तथा असार १४ मा भएको १, ५, ७ नम्बर प्रदेशका दुवै निर्वाचनमा एमालेको अग्रता कायमै रह्यो । निर्वाचन भएका ६ वटा प्रदेशमध्ये पाँचवटामा एमाले प्रथम पार्टीका रूपमा स्थापित भएको छ ।

प्रदेश नम्बर ४ मा भने कांग्रेस ठूलो दलका रूपमा रहेको छ । प्रमुख पदलाई आधार मान्दा एमालेले ४४ प्रतिशत, कांग्रेसले ३६ प्रतिशत र माओवादीले १३ प्रतिशत सिटमा विजय हासिल गरेका छन् । अब प्रदेश नम्बर २ मा असोज २ गते चुनाव हुँदैछ । त्यस क्षेत्रमा १ सय २७ स्थानीय तह रहेका छन् ।

पहिलो चरणमा निर्वाचन भएका चारवटा महानगरमध्ये पोखरा र काठमाडौं एमालेले जितेको छ । ललितपुर महानगर कांग्रेसले हात पारको छ । भरतपुर महानगरको भने विवाद भएपछि मतगणना नै रोकिइरहेको छ । दोस्रो चरणमा भएको निर्वाचनमा विराटनगर मात्र महानगर थियो । त्यहाँको परिणाम आइसकेको छैन । तर त्यहाँ कांग्रेसले जित्ने पक्कापक्की देखिएको छ ।

सातवटा उपमहानगरमध्ये अधिकांशमा एमालेले नै जितेको छ । घोराही, तुलसीपुर, बुटवल, हेटांैडा, इटहरी उपमहानगर एमालेले जितेको छ । धरान उपमहानगरको अन्तिम परिणाम आउन बाँकी छ । त्यहाँ पनि एमालेकै अग्रता छ । नेपालगन्ज उपमहानगरको प्रमुखमा भने राप्रपाले जितेको छ ।

धनगढी उपमहानगर कांग्रेसले जित्ने पक्कापक्की छ । अब निर्वाचन हुने प्रदेश नम्बर दुईमा ठूलामध्ये वीरगन्ज महानगर र जनकपुर उपमहानगरपालिका छन् ।

स्थानीय निर्वाचनको परिणामअनुसार प्रमुख पद जित्ने अन्य दलहरूमा संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेमकिपा र नयाँ शक्ति छन् ।

तर उनीहरूले थोरै स्थानमा मात्र आफ्नो उपस्थिति जनाउन सकेका छन् । दोस्रो चरणको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीका तर्फबाट स्वतन्त्र निर्वाचन लडेकामध्ये तीन जना स्वतन्त्र उम्मेदवारले प्रमुख पदमै जितेका छन् । कान्तिपुरमा समाचार छ ।