दैलेख, ४ साउन । घरभन्दा टाढा रहेको सानो कटेरो । न ढोका छ, न राम्रोसँग बारेको । वर्षतको पानी छेक्न माथिबाट केवल टिनको पाताले छोपिएको छ । वरिपरि पुराना बोरा झुन्ड्याएर भित्ता बनाइएको छ ।
ती भित्तारूपी बोराले न हावा छेक्छन्, न पानी नै १ खोलाको किनारमा रहेको यही कटेरो अर्थात् (छाउगोठमा) मृत्युसँग सम्झौता गर्दै १४ वर्षीया कृष्णकला विक रात बिताउन बाध्य छिन् ।
महिनावारी भएकी दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका लैनचौर निवासी कृष्णकलालाई परिवारले घरभित्र सुत्न नदिएपछि ज्यानको बाजी नै थापेर उनी छाउगोठमा सुत्न बाध्य भएकी हुन् । केही दिनपहिले मात्र गाउँकै तुल्सी शाहीको छाउगोठमै सर्पले टोक्दा ज्यान गएको थियो ।
आफ्नै दौंतरीको छाउगोठमा ज्यान गुमेको देखेकी कृष्णकलालाई छाउगोठमा सुत्न पटक्कै मन छैन । तैपनि, सामाजिक त्रास र परिवारको दबाबका कारण उनलाई छाउगोठमा रात बिताउन बाध्य पारिएको छ ।
मलिन अनुहार, त्रसित मानसिकता र पीडाले थलिएको अवस्थामा छाउगोठमा भेटिएकी कृष्णकलाले भनिन्, ‘मैले के अपराध गरें र ? यो सजाय भोग्दै छु । छाउगोठमा सुत्न डर लाग्छ तर घरभित्र सुत्नै दिँदैनन्’ ।
चिसो भुइँमा ओछ्याइएको बोरामाथि रात कटाउँदै आएकी उनले भनिन्, ‘मर्न त डर लाग्छ नि, अरू केही हुने पो हो कि ? संयोगले उनी छाउगोठमै थिइन् । क्यामेराका लेन्स तेस्र्याउनै लाग्दा केही तर्सिएकी उनी पछि भने अलि सहज भइन् ।
उनी ‘पाखा सरेको’ तेस्रो दिनमा हामीले त्यही छाउगोठअगाडि पाइला टेकेका थियौं । अहिलेसम्म चार पटकसम्म उनले त्यही छाउगोठमा बिताइसकेकी छिन् । महिनावारी भएको दोस्रो रात उनलाई छाउगोठमै किराले टोकेपछि परिवारमा रुवाबासी नै चल्यो ।
सर्पले टोकेको ठानेर आफन्तले उपचारका लागि हारगुहार नै गरे । पछि थाहा भयो, उनलाई अर्कै किराले टोकेको रहेछ । ‘म त यसपालि भाग्यले बाँचे, सर्पले टोकेको भए जीवन नै सकिने थियो’ कृष्णकलाले भनिन्, ‘घरभित्र सुत्दा देउता बिग्रिन्छन् रे, गाई भैंसीले पनि दूध दिँदैन भन्छन् । आमाबालाई मभन्दा भैंसी प्यारो भयो, पाप गरेजस्तै सजाय दिइएको छ, छाउ भएँ त पाप गर्या हो र ? अन्नपूर्ण पोस्ट्मा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्