Banner News

शैक्षिक विभेदलाई अन्त्य गर्दै व्यवहारीक तथा प्राविधिक शिक्षा : सांसद बस्नेत



काठमाडौँ, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शिक्षामा रहेको विभेदलाई अन्त्य गर्दै व्यवहारिक तथा प्राविधिक शिक्षा अहिलेको अपरिहार्यता रहेको बताउनुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित भैरवी आधारभूत विद्यालयको नयाँ भवनको बिहिवार शिलान्यास गर्दै सांसद बस्नेतले शिक्षा संरचनामा हुने खाने र हुँदा खाने बीचको शैक्षिक खाडलको अन्त्य गराउनु पर्नेमा बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न कुनै कसर बाँकी राख्न नहुने बताउनुभयो । देश विकासको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रको विकासलाई व्यवहारिकतामा लागु गर्न सके समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफलता हासिल गर्न सकिने बताउनुभयो ।

सांसद बस्नेतले भक्तपुरलाई शैक्षिक हवको रुपमा विकास गरिने बताउँदै आगामी दिनहरुमा कुनै पनि नागरिक शिक्षाबाट बञ्चित नहुने समेत बताउनुभयो । उहाँले शैक्षिक गुणस्तरलाई पनि विकास गर्दै जीवनउपयोगी, व्यवहारिक तथा आधुनिक प्रविधियुक्त हुनेपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरमा पछिल्लो समय शिक्षा, स्वास्थ्य, सडक, सरसफाई लगायतका कुराहरुको विकासले व्यापक रुपमा तिव्रता पाएको बताउनुभयो । उहाँले हनुमन्ते करिडोर, अन्तराष्ट्रिय रंगशाला, कवोर्डहल, प्राणी उद्यान केन्द्र, स्मार्ट सिटी, आधुनिक सभागृह, आधुनिक वीर अस्पताल, पर्यटकिय क्षेत्रको विकास लगायतका कार्यहरु तिव्र गतिमा अघि बढेको जानकारी गराउनुभयो ।

उहाँले अरनिको राजमार्ग तथा हनुमन्ते नदीको सफाई अभियानले आम नागरिकसँग सहकार्य तथा एकतावद्धता बनाउने कार्य भएको बताउँदै अभियानले विकास निर्माणको अनुगमन, विभिन्न प्रकारका हिंसा तथा सडक दुर्घटना न्युनिकरण भएको समेत बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जनप्रतिनिधि रहने व्यवस्था गरेसँगै विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुँदै आएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेतले विद्यालयमा प्लेग्रुपदेखि कक्षा ५ सम्म पढाइ हुँदै आएको र आगामी वर्षदेखि क्रमिकरूपमा कक्षाको स्तरोउन्नति गर्दै लैजाने बताउनुभयो ।

कूल रु ६९ लाख ६९ हजार लागतमा निर्माण हुने भवन चालू आर्थिक वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ ।