वीरगञ्ज, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले छोरीलाई शिक्षा दिनु आजको आवश्यकता रहेको बताएकी छन ।
बिहीबार प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको उत्घाटन गर्दै राष्ट्रपति भण्डारीले माता जानकीजस्ता विभूति जन्मेको यस देशमा राष्ट्र, राष्ट्रियता र संस्कृतिप्रति गौरव गर्ने वातावरण तयार पारी छोरी शिक्षालाई अगाडि बढाउनुपर्ने बताइन ।
उनले भनिन, ‘आजका छोरी भोलि देशको जिम्मेवार नागरिक भएकाले छोरीलाई शिक्षा दिनु आजको आवश्यकता हो, छोरीलाई शिक्षा दिँदा सुदृढ संस्कृतिको जगमा उभिन सक्ने गरी दिनुपर्छ ।’
सरकारले ल्याएको सो अभियानले समृद्ध समाज निर्माण गर्न तथा महिलाको उच्च प्रतिष्ठालाई सम्मान गर्न कोसेढुङ्गा सावित हुने बताउँदै राष्ट्रपति भण्डारीले वर्तमान संविधानले पनि महिलाको अधिकार सुनिश्चित गरी महिलालाई अधिकार सुम्पेको बताएकी छन ।
उक्त अवसरमा राष्ट्रपति भण्डारीले प्रभु बैक लिमिटेडमा खाता खोलिएका वीरगञ्ज महानगरपालिका–१ देखि १६ वडासम्मका १४ शिशुका अभिभावकलाई बैंकको खातासम्बन्धी कागजात हस्तान्तरण गरेकी छन ।
प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५ । ७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्