Banner News

अबैध भएर विदेशमा नबस्न नेपाली कामदारलाई मन्त्री विष्टको आग्रह



काठमाडौँ, २९ असोज । श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले अबैध भएर विदेश नबस्न नेपाली कामदारहरुलाई आग्रह  गरेका छन ।

मंगलबार बेलुकी यूएईमा कार्यरत नेपालीहरुलाई सम्बोधन गर्दै मन्त्री विष्टले बैधानिक तवरबाट बैदेशिक रोजगारीमा आउने सबै नेपाली नागरिकको जिम्मेवारी सरकारले लिने भन्दै अबैध भएर विदेश नबस्न आग्रह गरेका हुन ।

मन्त्री विष्टले खाडीमा कार्यरत घरेलु कामदारको पुनः श्रम स्वीकृतिलाई एक हदसम्म खुल्ला गरिएको तर नयाँ घरेलु कामदारका विषयमा थप अध्ययन र व्यवस्था गर्नुपर्ने भएकाले तत्काल खुल्ला नगरिने बताए ।

अध्ययन र छलफलपछि सरकारले लामो समय एउटै घरमा काम गरिरहेका र श्रम नपाउने डरले नेपाल फर्कन नपाएका घरेलु कामदारको हकमा निर्णय लिएको भन्दै उनले रोजगारदाता परिवर्तन गरेर काम गरिरहेका घरेलु कामदारको विषयमा आफूु चिन्तित भएर थप अध्ययन र छलफल गरिरहेको बताए  ।