समाचार

दुर्घटनामा परेर दैनिक ७ सय बिरामी जान्छन् ट्रमा सेन्टरमा



काठमाडौँ, १ कार्तिक । राष्ट्रिय ट्रमा सेन्टरमा दैनिक सात सयदेखि एक हजारको सङ्ख्यामा बिरामी आउने गर्छन् । तीमध्ये ७४ प्रतिशत ट्रमा र बाँकी २६ प्रतिशत सामान्य बिरामी आउने गरेका छन् ।

ट्रमा सेन्टरमा आउने बिरामीको सङ्ख्या पनि दुर्घटनाले निर्भर गर्छ । दैनिक ५१८ देखि ७४० जना दुर्घटनामा परेर उपचारका लागि त्यहाँ आउँछन् । अस्पतालका निर्देशक डा. प्रमोदकुमार यादवले बिरामीको तथ्याङ्क सार्वजनिक गर्दै आव २०७२/७३ मा चोटपटक लागेर ओपीडीमा मात्र आउने बिरामीको सङ्ख्या २८ हजार ३२३ रहेको बताउनुभयो । तीन वर्षको अन्तरालमा अर्थिक वर्ष २०७५/७६ मा पुग्दा यो सङ्ख्या बढेर ७९ हजार २३९ पुगेको छ । यो सङ्ख्या आकस्मिक कक्षमा आउनेबाहेक हो ।

निर्देशक यादवले आर्थिक वर्ष २०७२/७३ आकस्मिक उपचारमा आउने बिरामीको सङ्ख्या पाँच हजार ४६६ रहेको र आव २०७५/७६ सम्म पुग्दा बढेर १८ हजार २६३ पुगेको बताउनुभयो । आव २०७२÷७३ भर्ना हुनेको सङ्ख्या तीन हजार ७११ थिए भने अहिले बढेर चार हजार २४ छन् । आर्थिक वर्ष २०७३/७४ मा दुर्घटना भएर मृत्यु हुनेको सङ्ख्या दुई दशमलव चार रहेकोमा २०७५/७६ सम्म पुग्दा मृत्यु हुनेको सङ्ख्या घटेर एक दशमलव ८७ पुगेको बताउनुभयो ।

यादवका अनुसार अस्पतालमा सबैभन्दा धेरै हातखुट्टामा चोट लागेर अस्पताल आउने गरेका छन् । निर्देशक डा. यादवले ट्रमा सेन्टरमा हालसम्म पनि भौतिक पूर्वाधारयुक्त हुन नसकेको बताउँदै हालसम्म सेन्टरमा एमआईआई सेवासमेत नभएको बताउनुभयो ।

उहाँले वैकल्पिक व्यवस्थाका रूपमा सिटी स्क्यानसमेत नभएको भन्दै यसका लागि सरकारको ध्यानाकर्षण गराइरहेको बताउनुभयो । उहाँले ट्रमा सेन्टरमा हाल १० शøयामात्र आईसीयू रहेको जानकारी दिँदै सेन्टरमा कम्तीमा ५० आईसीयू आवश्यक रहेको बताउनुभयो । डा. यादवले सेन्टरमा हातखुट्टामा चोट लागेर आउने ६० प्रतिशत रहेको जानकारी दिँदै टाउकोमा चोट लागेर आउनेको सङ्ख्या २० प्रतिशत रहेको बताउनुभयो । बाँकी अन्य ठाउँमा चोट लागेर आउने गर्छन् । याे समाचार आजको गाेरखापत्र दैनिकमा छ ।