काठमाडौँ, ३ कार्तिक । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका निलम्बित सांसद मोहम्मद अफताब आलममाथि चलिरहेको कर्तव्य ज्यान मुद्दाको अनुसन्धानमा सहयोग गर्ने स्पष्ट पारेका छन् । आलमविरूद्ध जिउँदै मान्छे इटाभट्टामा जलाएर मारेकाे अभियाेगमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेकाे छ ।
पार्टीका सभापति शेरबहादुर देउवाले आलमको गिरफ्तारीलाई कांग्रेसमाथिको षडयन्त्र भनिरहेका बेला प्रवक्ता शर्माले स्थापनाकालदेखि पार्टीको संस्थागत मान्यता विधिको शासन र दबाबमुक्त कानुनी राज्य रहेको भन्दै अहिले त्यो नबदलिने उल्लेख गरेका छन् ।
यसअघि आलम पक्राउ पर्नेवित्तिकै ‘दोषी छुट्नु हुन्न्, निर्दोष फस्नुहुन्न’ भनेर गरेको ट्वीटलाई रिट्वीट गर्दै शर्माले सभापति देउवाले शुक्रबार दिएको अभिव्यक्तिको खण्डन गरेका छन् । साथै कांग्रेसको ‘विधिको शासन र दबाबमुक्त कानुनी राज्य’ भन्ने संस्थागत मान्यता परिवर्तन नहुने बताउँदै शर्माले सभापतिको अभिव्यक्ति व्यक्तिगत रहेको पनि संकेत गरेका छन् ।
शर्माले ट्वीटरमा लेखेका छन्, ‘हाम्रो संघर्ष विधिको शासन र दबाबमुक्त कानुनी राज्यका लागि थियो, हो र रहनेछ । अनुसन्धानमा सहजतापूर्वक सघाउनु हाम्रो कर्तव्य हो । स्थापनाकाल देखिको हाम्रो संस्थागत मान्यता जस्तोसुकै परिस्थितिमा किमार्थ बदलिन्न । यहीँ नै हाम्रो स्थायी धारणा, स्थायी विश्वास र स्थायी बाटो पनि हो ।’
यसअघि शुक्रबार भक्तपुरको बोडेमा शुक्रबार पार्टीको प्रशिक्षण कार्यक्रममा सभापति देउवाले आलमलाई पक्राउ गर्नु ‘कांग्रेसविरुद्धको षड्यन्त्र’ भएको बताएका थिए । १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको उनको आरोप थियो । यो खबर आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्