राजनीति

सांसद गुरुङलाई साधारण तारेखमा छाड्न आदेश



काठमाडौँ, ४ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने आदेश भएको अदालतका शाखा अधिकृत ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभएको छ । दोलखाका वीरध्वज खड्काले आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोपमा सांसद गुरुङसहित ७ जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए ।

ज्यान मार्ने उद्योगमा वारेन्ट जारी भएपछि सांसद गुरुङ आइतबार जिल्ला अदालत, काठमाडौँमा हाजिर हुनुभएको थियो ।

सांसद गुरुङको सचिवालयले तत्कालिन समयमा राजनीतिक पहुँचका आधारमा अनावश्यक मुद्धा दर्ता गरेको उल्लेख गरेको छ । सचिवालयले अवकाश पाउनु भएका तात्कालिन एसएसपीले छविलाल बञ्जाडेले जानीजानी अपराध गर्नुभएको साथै गृहमन्त्री र आइजीपीले कानूनमाथि बलात्कार गरेका कारण उक्त समयमा भएको कुटपिटको घटनालाई लिएर अहिले अदालतबाट पुर्जी आएको उल्लेख गरिएको छ । सचिवालयले सांसद गुरुङले कुनै अपराध गरेको नभई राजनीतिक प्रतिसोध साध्न खोजेको आरोप लगाएको छ ।

सचिवालयले उल्लेख गरेको वास्तविकता जस्ताको तस्तै,

कोही भ्रममा नपरौं, तथ्य यो हो !

स्थानीय तहको निर्वाचनको क्रममा दोलखाको हाम्रो गौरीशंकर गाउँपालिकामा दुखद घटना भयो । होनहार युवा कुलबहादुर तामाङको ज्यान गयो । तात्कालिन माओवादीका दोलखाका सवै नेताबिरुद्ध तात्कालिन एमालेको पहलमा प्रहरीमा किटानी जाहेरी पर्यो । तामाङमाथि आक्रमण गर्ने र किटानी जाहेरीमा रहेका केही युवाहरुलाई काठमाडौंको गौशालामा कुटपिट गरेछन घटना घटेकै गाउँका युवाहरुले । त्यसबिरुद्ध तात्कालिन गृहमन्त्री र आइजीपीको आदेशमा सांसद भन्ने पहिचान नगरी महानगरीय प्रहरी परिसर काठमाडौंमा दोलखाका माननीय सांसद पार्वत गुरुङसहितको नाममा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएछ । यो जानकारी पाएर म र पार्वत दाई प्रहरीमै पुगेर सोधेका थियौं, के आधारमा यस्तो अपराध गर्छ प्रहरीले । तात्कालिन एसएसपी छविलाल बञ्जाडेले भुलवस दर्ता भएछ, सरकारी वकिलको कार्यालयसँग परामर्श गरी गल्ती सच्याउँछौं, हजुरले अव चिन्ता लिनुपर्दैन भन्नुभयो । अहिले अवकाश पाउनु भएका तात्कालिन एसएसपीले जानीजानी अपराध गर्नुभएछ । गृहमन्त्री र आइजीपीले कानूनमाथि बलात्कार गर्नुभएको त्यही घटनालाई लिएर अहिले अदालतबाट पुर्जी आएको हो । माननीय पार्वत गुरुङले कुनै अपराध गरेको होइन । धेरै मित्रहरुले जानकारी मागेपछि एकमुष्ट जवाफ दिइएको हो । त्यसबेला तात्कालिन माओवादी र एमालेबीचको चरम युद्धको परिणाम हो यो । अहिले दुवै पार्टी छैन, नेकपा छ । घटना भएको दिन काठमाडौंमा हुँदै नभएको इमान्दार र जनताका असल नेताबिरुद्ध गरिएको तात्कालिन गृहमन्त्री, आइजीपी र ती एसएसपीले गरेको अपराध हो ।