भक्तपुर, ४ कार्तिक । सूर्यविनायक नगरपालिका १ सिरुटारमा संचालित सिरुटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १८ वर्षपछि आर्थिक प्रतिवेदन विना आज अधिवेशन सम्पन्न भएको हो ।
२०५२ सालमा स्थापना भई हाल १२ सय घरपरिवारलाई पानी वितरण गर्दै आएको समितिले १८ वर्षसम्म साधारण सभा नगरेको, अडिट नगरेको, आयव्यय सार्वजनिक नगरेको र समितिका कर्मचारीले व्यापक अनियमितता गरेको आरोप लाग्दै आएपछि वडा कार्यालयमा गत भदौ ४ गते साभारणसभा सहित अधिवेशन गर्न अल्टिमेटम दिएको थियो ।
पटक पटकको अल्टिमेटम पछि पनि सभा नगरेपछि वडा कार्यालयले हस्तक्षेप गर्ने तयारी गरेलगत्तै आज हतारमा आर्थिक प्रतिवेदन पारित विना अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भाईकृष्ण श्रेष्ठको अध्यक्षतामा सर्वदलीय संयन्त्र रहने गरि १३ सदस्यीय नयाँ कार्यसमिति र सात सदस्यीय सल्लाहाकार समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा मञ्जु बराल, सचिवमा मनोज कार्की, कोषाध्यक्षमा चण्डिका मिश्र र सदस्यहरुमा भूपेन्द्र राउत, भूपाल गिरी, हरि पिला श्रेष्ठ, सुदर्शन बुढाथोकी, रुपा केसी, भवानी थापा, भगवति थापा, कविन्द्र मिश्र, भिमसेन थापा रहेका छन् ।
त्यसैगरि अच्यूत प्रसाद मिश्रको संयोजकत्वमा आत्माराम अधिकारी, धु्रवराज विष्ट, बाबुशरण श्रेष्ठ, हरिशरण राउत, हरिशरण अधिकारी र गणेशराम कायस्थ सदस्य रहेको सल्लाहारका समिति गठन गरेको छ ।
कार्यक्रममा ३ नं. प्रदेश सांसद एवं स्थानीयवासी शशीजंग थापाले खानेपानी समितिमा भएको अनियमितताको स्पष्ट छानबिन हुनु पर्ने बताउदै अब नयाँ समितिले प्रत्येकको घरघरका धारोमा पानी आउने व्यबस्था गरिनु पर्ने बताउनुभयो ।
उहाँले काकाकुल रहेको सिरुटारमा आफू गाविस अध्यक्ष हुँदादेखि खानेपानी ल्याउन पहल गरेको बताउदै आएको खानेपानी पनि अब्यबस्थित हुदाँ कतै वर्र्षौदेखि पानी नगएको र कतै जथाभावी छाडिएको पाईएको बताउनुभयो ।
प्रदेश सरकारको १ करोडको लागतमा नयाँ खानेपानी उत्पादन गर्ने तयारी गरेको बताउदै उहाँले सिरुटार खानेपानीमा प्रदेश सरकारको रु. ४० लाखको लागतमा फिल्टर प्लान्ट जडान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष सानुकाजी कायस्थले वर्षौदेखि बन्द भएका धारो तत्काल सूचारु गराउन समितिलाई वडाको तर्फबाट रु. ५ लाख सहयोग प्रदान गर्ने बताउदै सिरुटारलाई खानेपानीको समस्याबाट मुक्त बनाउने बताउनुभयो ।
विगत १८ वर्षदेखि साधारण सभा समेत नगरेको र कुनै पनि वर्ष आयव्यय समेत सार्वजनिक नगरी धारा जडान गर्नु अघि उपभोक्ताले राखेको डिपोजित समेत अपचलन गरि कर्मचारीले व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएकोमा साधारणसभामा समेत समितिले प्रष्ट हिसाब बुझाउन नसके पछि व्यापक आलोचना भएको छ ।
उपभोक्ताहरुले समितिमा भएको व्यापक भ्रष्टाचार र अनियमितताको प्रष्ट छानबिन समिति गठन गरि छानबिन हुनुपर्ने माग गरेका छन् । समितिले आफ्नो हिसाब किताब दुरुस्त रुपमा कानूनी सम्वतले नराखेकोले हिसाव नमिल्ने प्रतिवेदन लेखा परीक्षकले दिएको छ ।
समितिका कर्मचारीले रकम हिनामिना गरेको, रु. १० हजारमा जडान गर्नुपर्ने धारोलाई कर्मचारीले ४० हजारदेखि एक लाखसम्म लिएर जडान गरेको, पानीको समानुपाति ढंगले वितरण नगरेको भन्दै समिति र कर्मचारीको विरोध हुदै आएको थियो ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले अधिवेशन पछि आजैदेखि नयाँ हिसाव सुरु भएको र हिजोसम्मको आर्थिक प्रतिवेदन पारित नभएकाले प्रष्ट हिसाव नआएसम्म बुरबुजाथ नगर्ने र छानबिन गर्ने बताउनुभयो ।
उहाँले तिहार अगाडि नै वर्षौदेखि बन्द धारा सूचारु गर्ने, पानी वितरण बराबर गर्ने, फिल्टरप्लान्ट राख्ने, चुहावत नियन्त्रण गर्ने, अकर्बो निर्णय नभएसम्मका लागि नयाँ धारा वितरण बन्द गर्ने, कर्मचारीले चलाएको भनिएको तर कसले कति चलायो भनेर स्पष्ट नभएको रकमदेखि डिपोजित रकम समेतको खोजी गरिने बताउनुभयो ।
समितिका पूर्वअध्यक्ष अच्युत मिश्रले आफूले निकै दुःख गरेर सिरुटारमा खानेपानीको व्यबस्था गरेको बताउदै केही कर्मचारीको वेईमानीले समस्या आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्