समाचार

सुरक्षाकर्मीलाई मोटरसाइकलले ठक्कर दिँदा तीन जना घाइते



नवलपरासी, ४ कार्तिक । नवलपरासीमा गस्ती गरिरहेका सुरक्षाकर्मीलाई ठक्कर दिएर मोटरसाइकलसमेत पल्टिँदा तीन जना घाइते भएका छन् ।

गएराति  बर्दघाट सुस्ता पूर्वको मध्यबिन्दु नगरपालिका ७ मा गस्ती गरिरहेका सुरक्षाकर्मीलाई ग७प ५२९९ नम्बरको मोटरसाइकल ठक्कर दिदा दुई सशस्त्र प्रहरी र मोटरसाइकल चालक घाइते भएका हुन ।

प्रहरीका अनुसार दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प चोरामारामा कार्यरत सशस्त्र प्रहरी जवानहरु लालसिंह तामाङ र डम्बर खप्तडी घाइते भएका हुन् । घाइते मोटरसाइकल चालकको भने परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

घाइते तीनै जनालाई उपचारको लागि चितवनस्थित कलेज अफ मेडिकल साइन्स अस्पताल पठाइएको स्थानीय प्रहरीले जनाएको छ ।