समाचार

नेपाल टेलिकमको इन्टरनेट महसुल घट्यो



काठमाडौँ, ५ कात्तिक । नेपाल टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटाएको छ ।

टेलिकमले २०७६ कात्तिक १ गते देखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको हो । पहिले न्यूनतम ५१२ केबीपीएस देखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा अब न्यूनतम २ एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराइने छ ।

२ देखि २० एमबीपीएसको व्याण्डविथ रेन्जको महसुल दर प्रति एमबीपीएस २ हजार ५ सय रुपैयाँ मात्र कायम गरिएको छ । त्यसैगरी पहिले ११ देखि १०० एमबीपीएस व्याण्डविथ रेन्जको प्रति एमबीपीएस ४ हजार रुपैयाँमा उपलब्ध गराइरहेकोमा अब २१ देखि ५० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रति एमबीपीएस २ हजार ३ सय रुपैयाँमा र ५१ देखि १०० एमबीपीएस रेन्जको प्रति एमबीपीएस मात्र २ हजार १ सय रुपैयाँमा उपलब्ध गराइने छ ।

पहिले १०० एमबीपीएस भन्दा माथिका लागि प्रति एमबीपीएस ३ हजार ८ सय रुपैयाँ महसुल दर तोकिएकोमा अब यो प्रति एमबीपीएस १ हजार ९ सय रुपैयाँमै उपलब्ध हुनेछ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधँै बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ ।

मुलुकभरका नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका कुनै पनि कार्यालय तथा क्षेत्रीय निर्देशनालयमा सम्पर्क राखी यो सेवा प्राप्त गर्न सकिन्छ । त्यसका लागि चाहिएको क्षमताको इन्टरनेट लिज सेवाको माग सहितको निवेदन पेश गर्नुपर्ने हुन्छ ।