समाचार

नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न अमेरिकी सेनासँग ‘ल्याण्ड फोर्स टक’



काठमाडौँ, ५ कार्तिक । नेपाली सेनाको क्षमता अभिवृद्धि र व्यवसायीकरणका विषयमा अमेरिकी सेनाले सहकार्य गर्ने भएको छ। सहकार्यका लागि छलफल गर्न अमेरिकी सेनाको ‘युएस आर्मी प्यासिफिक’ अन्तर्गतका २० सैनिक अधिकारी काठमाडौं आएका छन् ।

नेपाली सेनालाई प्राविधिक हिसाबले सक्षम बनाउने विषयमा छलफल केन्द्रित हुनेछ । उपरथी नेतृत्वमा इन्डो प्यासिफिक कमाण्डअन्तर्गतको युएस आर्मी टोली नेपाल आएको हो । दुई मुलुकका सैनिक अधिकारीबीच हुने यो छलफललाई ‘ल्याण्ड फोर्स टक’ नाम दिइएको छ ।

जंगी अड्डामा मंगलबारबाट दुई दिनसम्म नेपाली र अमेरिकी सैनिक अधिकारीबीच छलफल हुनेछ। शान्ति सेना, नेपाली सेनाको क्षमता अभिवृद्धि, विपत् व्यवस्थापनलगायतका विषयमा छलफल केन्द्रित हुने सैनिक स्रोतले बताएको छ ।

प्रतिआतंकवादको विषयमा समेत छलफल हुने ति सैनिक अधिकारीले बताए । सहरी विद्रोह नियन्त्रण र प्रतिकारका विषयमा समेत दुई मुलुकका सैनिक अधिकारीबीच छलफल हुनेछ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।