Banner News

साना मुलुकका मुद्दाले अन्तर्राष्ट्रिय स्तरमा प्राथमिकता पाउनुपर्छ : मन्त्री पाेखरेल



काठमाडौँ, ५ कात्तिक । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले साना, मध्यम तथा अतिकम विकसित मुलुकका सुरक्षा र विकासका मुद्दाले अन्तर्राष्ट्रिय स्तरमा प्राथमिकता पाउनुपर्ने बताएका छन् ।

चीनको राजधानी बेइजिङ्गमा २० देखि २२ अक्टोवर, २०१९ सम्म आयोजना भएको 9th  Beijing Xiangshan Forum फोरमको मंगलबार बिहानको तेस्रो पूर्ण सत्रमा ”Interests of Medium and Small Countries and Common Security” विषयमा विशेष वक्ताको रूपमा उनले आफ्नो विचार व्यक्त गरेका हुन् ।

मन्त्री पोखरेलले नेपालले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशील र विश्वशान्तिको आधारमा परराष्ट्र नीति सञ्चालन गर्दै आएको विचार व्यक्त गर्दै नेपाल न्यायपूर्ण र समतामूलक विश्व व्यवस्थाको पक्षपाती रहेको बताए ।

नेपालले भोग्नुपरिरहेका जलवायु परिवर्तनका समस्याहरूको बारेमा विकसित र औद्योगिक मुलुकहरूको ध्यानाकर्षण गराउउदै उनले हिमालय क्षेत्रको संवेदनशील पर्यावरणबारे सबैमा सचेतना बढाउन र जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने दिशामा पारस्परिक सहयोगलाई अभिवृद्धि गर्न नेपालले सन् २०२० को अप्रिलमा सगरमाथा संवाद आयोजना गर्न लागेको कुरा जानकारी गराउँदै त्यसमा सहभागिताका लागि सबैलाई आमन्त्रण गरे ।

उनले विश्वका १४ मध्ये १० उच्च हिमशृंखला भएको, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि तथा कला र संस्कृतिमा धनी देश नेपालले आगामी सन् २०२० लाई Visit Nepal Year का रूपमा विभिन्न कार्यक्रमहरूसहित मनाउन गइरहेकोमा उक्त वर्षमा नेपाल भ्रमणमा आउन सबैलाई हार्दिक निमन्त्रणा दिए ।

China Association for Military Science (CAMS) तथा China Institute for International Strategic Studies (CIISS) ले संयुक्त रूपमा जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्षगाँठको अवसर पारेर आयोजना गरेको यो त्रिदिवसीय फोरमको नारा ”Maintaining International Order and Promoting Peace in the Asia-Pacific भन्ने रहेको छ ।