Banner News

सभामुख नहुँदा पारित भएका पाँचवटा विधेयक प्रमाणीकरण हुन सकेन



काठमाडौँ, ६ कार्तिक । सभामुख पद रिक्त हुँदा संघीय संसद्को चौथो अधिवेशनबाट पारित भएका पाँचवटा विधेयक प्रमाणीकरण हुन सकेको छैन ।

सभामुखले प्रमाणीकरण गरेपछि मात्र विधेयक राष्ट्रपतिसमक्ष पेस गर्ने संवैधानिक प्रावधान छ । विधेयक पारितपछिका प्राविधिक काम भइरहेकै बेला सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रमाणीकरणको प्रक्रिया अगाडि नबढेको हो । जबर्जस्ती करणी अभियोग लागेपछि सभामुख महराले राजीनामा दिएका थिए ।

संघीय संसद् सचिवालयका अनुसार पाँचवटा विधेयक प्रमाणीकरण भएका छैनन् । जसमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्नेसम्बन्धी विधेयक, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको सुपरिवेक्षण तथा सञ्चालनसम्बन्धी दुई महत्त्वपूर्ण विधेयक प्रमाणीकरण भएका छैनन् ।

यस्तै चौथो अधिवेशनबाट पारित भएका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी विधेयक, औद्योगिक व्यवसाय विधेयक र भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक प्रमाणीकरण भएका छैनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।