Banner News

राष्ट्रपति भण्डारी आज स्वदेश फर्कँदै



काठमाडौँ, ६ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापान भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदै हुनुहुन्छ । राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डल टोलि जापनको हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ हुँदै स्वदेश फर्कँदैछ ।

यसअघि राष्ट्रपति भण्डारीले म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण गर्नुभएको थियो । त्यस्तै जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन उहाँ आइतबार म्यान्माबाट जापान पुग्नुभएको थियो ।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी हुनुहुन्छ ।

उहाँले गत असोज २९ गतेदेखि आफ्नो भ्रमण शुरु गर्नुभएको थियो ।