Banner News

मित्रतालाई यो वा त्यो सहमतिको सीमाभित्र मात्र नाप्नु हुँदैन : प्रधानमन्त्री ओली



काठमाडौँ, ६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रतालाई यो वा त्यो सहमतिको सीमाभित्र मात्र नाप्नुनहुने बताएका छन ।

नेपाल टेलिभिजनसँग मङ्गलबार राति समसामयिक विषयमा कुरा गर्दै उनले भने, ‘सबैभन्दा महìवपूर्ण कुरा मित्रता हो । मित्रता छ भने सबै कुरा छ । मित्रता छैन भने केही पनि छैन । सबै अपेक्षाहरू मित्रताबाट हासिल हुन्छन् । मित्रताविनाका अपेक्षाहरू ती काम लाग्दैनन । धोका हुन्छन । असम्भव हुन्छन ।, यो मित्रता दुई सरकार, दुई नेता, दुई पार्टीबीचको मित्रता जस्तो मात्र होइन । त्योभन्दा व्यापक कुरा हो । दुई देशका बीचको मित्रता हो । त्यसकारण यो मित्रतालाई यो वा त्यो सहमतिको सीमाभित्र मात्र नाप्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले भर्खरै सम्पन्न चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबाट दुई देशबीच बृहत्तर राष्ट्रिय पारस्परिक हित, सम्मान र विश्वासको जगमा उठेको दीर्घकालीन मित्रता कायम भएको बताए ।

उनले नेपाल र चीनबीच भएको रणनीतिक साझेदारीप्रति कुनै भ्रम नराख्न आग्रह गर्दै भने, ‘यो कुनै मिलिटरी साझेदारी वा राजनीतिक गठबन्धन हो जस्तो लागेको छ भने त्यो होइन । यो साझा, समृद्ध भविष्यतर्फ उन्मुख, साझा प्रतिबद्धताको अभिव्यक्ति र पारस्परिक विश्वास र सहयोगको उच्चस्तरीय दीर्घकालीन आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सहयोगको आदानप्रदान र सहकार्य हो ।’

‘राष्ट्रपति सी भारत हुँदै आउनुभयो । त्यहाँ पनि त्रिदेशीय सम्बन्ध सहकार्यका बारेमा कुरा चल्यो । हामी त्रिदेशीय सम्बन्धलाई अगाडि बढाउने पक्षमा छौँ ।’ उनले चीन र भारतको मित्रता निकै बढेको र त्यसबाट आफू निकै खुसी भएको बताए । उनले भने, ‘ठूला, बलिया छिमेकीको बीचमा तनाव भयो भने हामीलाई त्यसै नराम्रो हुन्छ । तनाव भएन मित्रता भयो, पारिस्परिक विश्वास बढ्दै गयो भने हामीलाई यसै फाइदा हुन्छ ।’

उनले विश्वमा अहिले पनि अशान्तिको खतरा रहेको चर्चा गर्दै शान्तिको पक्षमा क्रियाशील हुनु जरुरी रहेको बताउदै भने, ‘त्यसप्रति नेपाल प्रतिबद्ध छ । पारस्परिक अहस्तक्षेप, सहअस्तित्व, सार्वभौमसत्ता र स्वाधीनताको सम्मानजस्ता विषय अहिले पनि उत्तिकै सान्दर्भिक छन ।’

प्रधानमन्त्री ओलीले १८औँ शिखर सम्मेलनले असंलग्न आन्दोलनका आधारभूत सिद्धान्त र आजको आवश्यकतालाई सम्बोधन गर्ने विश्वाससमेत व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय जगतमा पनि सबै राष्ट्रको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा हुनुपर्नेमा जोड दिए  ।