राजनीति

तीन वर्षभित्रमा सबैको घरमा बिजुली बल्छ : मन्त्री पुन



चितवन, ६ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताएका छन् ।

आज भरतपुर महानगरपालिकाले आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने बताए ।

चालू आर्थिक वर्षमा रु २८ करोड बजेट छुट्टा्याइएको र ४१ जिल्लामध्ये चितवन पनि पर्ने जानकारी दिदै उनले भने, ‘तीन वर्षभित्र देशभरि पूर्ण विद्युतीकरण हुनेछ ।’

उनले प्रधानमन्त्रीको पानी जहाजको सपनालाई साकार पार्न नारायणी नदीमा पानीजहाज चलाउने अवधारणालाई अगाडि बढाइएको बताउदै उनले भने, ‘दासढुङ्गादेखि भारतको सिमानासम्म पानीजहाज चलाउन सकिने अध्ययनले देखाएको छ ।’

मन्त्री पुनले रु २० करोडको लागतमा भरतपुर महानगरमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको जानकारी दिए । उनले भने, ‘नेपाल सरकारले एउटा नमूना परियोजनाका रुपमा भरतपुरमा स्मार्ट सडक बत्ती जडान गर्दै छ । आकाशमा जहाजमा उड्नेले पनि उज्यालो भरतपुर देख्ने छन् ।’