समाचार

पशुपति आर्यघाटमा शव जलाउनेहरुको सेवा सुविधा बढ्यो, आन्दोलन फिर्ता



काठमाडौँ, ६ कार्तिक । पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शव जलाउनेलगायतका कार्यमा संलग्न घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेको छ ।

सेवा केन्द्रका कर्मचारीहरुले सेवा सुविधा वृद्धिको माग गर्दै बुधबार बिहानबाट शव दाहलगायतका सबै काम बन्द गर्ने घोषणा गरेका थिए ।

उनीहरुको आन्दोलनबाट शव दाह नै रोकिनसक्ने भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीच वार्ता भएको छ ।

उक्त सहमति  अनुसार उनीहरुको माग धेरै वर्षदेखि नबढेको पारिश्रमिक बढ्नुपर्‍यो भन्ने थियो । अब एउटा शव जलाएवाफत पाउने १२ सय रुपैयाँबाट १५ सय र औषधि उपचार खर्च पाँच हजारबाट १५ हजार रुपैयाँ बनाइदिएको छ ।

यसका साथै अवकास पाउँदा उपदानवाफत् पाउने डेढ लाख रुपैयाँबाट पाँच लाख रुपैयाँ पुर्‍याउने र दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने सहमति पनि भएको र  यससँगै आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेका छन् ।