Banner News

छिमेकी देशका प्रमको प्रशंसा गर्छौ, देशका प्रमको कुरा काट्छौं, अनि कसरी विकास हुन्छ ? : मुख्यमन्त्री पोखरेल



बाँके, ७ कार्तिक । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले छिमेकी मुलुकका प्रधानमन्त्री तथा राष्ट्र प्र्रमुखले गरेको कामको उच्च प्रशंसा गर्ने तर आफ्नो देशको प्रधानमन्त्रीको प्रत्येक पाईला पाईलामा कुरा काट्ने तथा अघि बढ्न नदिए पछि कसरी देशको विकास गर्न सकिन्छ ? भनि प्रश्न गर्नुभएको छ ।

बाकेको खजुरा गाउँपालिकामा प्रदेश ५ मै पहिलो गाउँपालिका स्तरमा बृहत सम्मेलन आयोजना गरिएको खजुरा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विकास लाई अगाडि बढाउनको लागि सबैको हातेमालो गरी उद्यमशीलता विकास गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

हरेक विकास योजनालाई जनतासँग जोड्नुपर्ने बताउँदै मुख्यमन्त्री पोखरेलले सरकार विकासको गतिमा अघि बढेको प्रष्ट पार्नुभयो । जनताको साथ विनाका विकास योजना कहिल्यै पनि सफल नहुने भन्दै उहाँले विकास र समृद्धिको लागि सबैको साथ र सहयोग लिएर अगाडि बढ्न धारणा व्यक्त गर्नुभयो ।

पालिकाको विशेषता र आवश्यकतालाई मध्यनजर गर्दै सोही अनुसारको विकास योजना बनाउन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले राज्यले विकास निर्माणका आधारहरु तयार गर्ने भन्दै विकासको काम स्वयम स्थानीय तहको नै भएको बताउनुभयो ।