काठमाडौँ, ७ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापानको भ्रमण सम्पन्न गरी बुधवार साँझ स्वदेश फर्कनुभएको छ ।
राष्ट्रपति भण्डारीको भ्रमणबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिको जापान भ्रमण फलदायी भएको बताउनुभयो । उहाँले यस भ्रमणले द्विपक्षीय सहयोग तथा सम्बन्ध बिस्तारमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्नुभयो ।
गृहमन्त्री थापाका अनुसार राष्ट्रपति भण्डारीले त्यस अवसरमा नेपालले गरेको ऐतिहासिक, राजनीतिक स्थायित्वबाट सामाजिक विकासका लागि अनुकूल अवस्था सिर्जना भएको बताउनुभएको थियो ।
नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण बनेकाले जापानको पुँजी प्रविधि सीप र ज्ञान नेपालका लागि महत्वपूर्ण हुने भन्दै राष्ट्रपति भण्डारीले व्यापार तथा लगानी र पर्यटन प्रवर्द्धनको क्षेत्रमा दुई देशबीच सहकार्य हुनसकेमा जनस्तरको सम्बन्धमा विस्तार हुन जाने विश्वास व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापान सरकार तथा जनताको सहयोग रहने अपेक्षा गर्नुभएको थियो । जलवायु परिवर्तन र पर्यावरणीय असन्तुलनका नकरात्मक असरका सम्बन्धमा विश्व समुदायको ध्यानकर्षण तथा अन्तराष्ट्रिय सहयोग जुटाउन नेपालले सन् २०२० को अप्रिलमा आयोजन गर्ने सगरमाथा संवादमा जापान सरकारको तर्फबाट उच्च तहको सहभागिताका लागि अनुरोध गर्नुभएको थियो ।
जापान सरकारको निमन्त्रणालाई स्वीकार गरी जापानका सम्राट्को गद्दी आरोहण समारोहमा सहभागिता जनाउनुभएकामा जापानका प्रधानमन्त्री सिन्जो आबेले राष्ट्रपति भण्डारीलाई धन्यवाद दिनुभएको गृहमन्त्री थापाले सुनाउनुभयो । राष्ट्रपति भण्डारीसँग जापानका प्रधानमन्त्रीले गर्नुभएको भेटमा उहाँले नेपाल–जापानबीच रहिआएको सुमधुर सम्बन्ध र नेपालको सामाजिक आर्थिक विकासमा जापानको सदैव साथ रहने विश्वास दिलाउनुभएको थियो ।
जापानका प्रधानमन्त्रीले नेपालको पूर्वाधार विकास तथा मानव संशाधनको विकासका लागि जापानको निरन्तर साथ र सहयोग रहने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आवश्यक पर्ने सहयोग गर्ने आवश्यक प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
भ्रमणकै सिलसिलामा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा उहाँले राष्ट्रपति कोविन्दलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको गृहमन्त्री थापाले जानकारी दिनुभयो ।
उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतले स्वागत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्